२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायको आशामा ६ महिना बित्यो, यातना दिनेमाथि कारबाही भएन



अ+ अ-

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला घटनाको अनुसन्धानका क्रममा प्रहरीले यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा परेको जाहेरीमाथि सुनुवाइ नभएको पीडितले बताएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

घटनाको मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरिएका दिलीप विष्टका दाइ खडकले बुधबार पत्रकार सम्मेलन गरी जाहेरी दिएको एक महिनासम्मपनि कारबाही प्रक्रिया अघि नबढेको बताएका हुन् ।

दिलीपलाई यातना दिई अपराध कबुल गर्न लगाएको भन्दै पुस ३ गते जिल्ला प्रहरी कार्यालयमा तत्कालीन एसपी दिल्लीराज विष्टसहित ४ जनाका नाममा यातना कसूरसम्बन्धी जाहेरी दर्ता भएको थियो । ‘जाहेरी दिएको एक महिनासम्म पनि कुनै सुनुवाइ भएन,’ पत्रकार सम्मेलनमा खडकले भने, ‘यातना दिनेलाई कारबाही र उचित क्षतिपूर्ति दिइनुपर्छ ।’

भीमदत्त नगरपालिका १९ बाग्फाँटाका दिलीप विष्टलाई प्रहरीले भदौ ४ गते घटना भएको २६ औं दिन मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । ‘यातनाका कारण दिलीपको स्वास्थ्य ठीक छैन,’ खडकले भने, ‘उपचारका लागि अहिलेसम्म डेढरदुई लाख खर्च भइसक्यो ।’

दिलीपलाई २६ दिन प्रहरी हिरासतमा राखेर डीएनए नमिलेपछि छाडिएको थियो । मानसिक अस्वस्थ उनी प्रहरीको यातनापछि झनै अस्वस्थ बनेका छन् । उनलाई उपचारका लागि काठमाडौं लगिएको खडकले बताए । केही दिनअघि मात्रै उनलाई घर ल्याइएको हो ।

औषधि खुवाउनुपर्ने र आवश्यक खर्चको अभावमा उपचार रोकिएको उनले जानकारी दिए । खडकले तत्कालीन एसपी विष्टसँगै केन्द्रीय अनुसन्धान ब्युरोका निलम्बित डीएसपी अंगुर जीसी, जिल्ला प्रहरी कार्यालयका तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी र निलम्बित प्रहरी निरीक्षक एकीन्द्र खडकाका नाममा यातनासम्बन्धी जाहेरी दिएका थिए ।

उनीसँगै निर्मलाकी आमा दुर्गादेवीले पनि प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन एसपी विष्टसहित ८ जनाका नाममा जाहेरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने जाहेरी दर्ता भएर अनुसन्धान चलिरहेको जनाएको छ ।

न्याय माग्नमै बिते ६ महिना
निर्मला घटना भएको बिहीबार ६ महिना पूरा भयो । तर अहिलेसम्म अपराधी पत्ता लाग्न सकेको छैन । घटना भएकै दिनदेखि न्यायका लागि चरणबद्ध रूपमा आन्दोलन चलिरहेको छ ।

न्यायकै लागि पीडित परिवारले सुरु गरेको अनिश्चितकालीन धर्ना पनि यथावत् छ । पीडित परिवारले कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेको थियो । ‘अब त न्याय पाउने आस पनि मर्‍यो,’ निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘हत्यारा पत्ता नलाग्दा पीडा झन् बढिरहेको छ ।’

घटनाको अनुसन्धानका लागि प्रहरीका विभिन्न टोली गठन भइसकेका छन् । गृह मन्त्रालयले पनि उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । अहिले पनि सीआईबीको टोलीसँगै जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ ।