२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको ऐतिहासिक जित, पारसले बनाए सतक, नेपालद्वारा युएइ ४ विकेटले पराजित



अ+ अ-

काठमाडौं । नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । युएइकाे घरेलु मैदानमा भएकाे खेलमा नेपालले यूएईलाई २–१ ले  शृङ्खला कब्जा गरेको हो ।

कप्तान पारस खड्काले शतकसँगै नेपालले तेस्रो तथा अन्तिम खेलमा युएईलाई ४ विकेटले पराजित गरेको छ । पारसले ११५ रन बनाएका थिए । उनी कादिर अहमदकाे बलमा एलबीडब्लु अाउट भएका थिए । उनले १५ चाैका र १ छक्का प्रहार गरेका थिए । खड्काले ९६ बलमा सतक प्रहार गरेका थिए ।

नेपाली टाेलीका कप्तान पारस खड्का प्लेयर अफ द म्याच भएका थिए ।

टस हारी पहिले ब्याटिङ गरेकाे युएईले २५४ रन बनाएकाे थियाे । लक्ष पछ्याउने क्रममा नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाएर २५५ रन बनाएको थियो ।

नेपालले खेलेको यो दोस्रो वन डे शृङ्खला हो । यसअघि नेदरल्याण्ड्विरुद्धको शृङ्खलामा नेपालले १–१ को बराबरी खेलेको थियो ।

सोमपाल कामी र आरिफ शेखले सातौं विकेटका लागि ४० रनको साझेदारी गरेर टोलीलाई जित दिलाए । नेपालले ४४ दशमलव ४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।

सोमपालले ४५ औं ओभरको चौथो बलमा शानदार छक्का प्रहार गरेसँगै नेपालको जित सम्भव भएको थियो । उनी २६ रनमा अविजित रहँदा आरिफ शेखले २१ रनमा साथ दिए । उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन जोडे । वन डे टीममा डेब्यु गरेका सन्दिप जोराले १९ र रोहित कुमार पौडेलले १६ रन जोडे ।

यसअघि टस जितेर फिल्डिङको निर्णय गरेको नेपालले शुरुआत राम्रो गरे पनि त्यसलाई निरन्तरता दिन सकेको थिएन । तीव्र गतिका बलर सोमपाल कामी र करण केसीले नेपालका लागि शुरुआती सफलता दिलाए पनि युएईका मध्य क्रमका ब्याट्सम्यानले इनिङ्स सम्हालेका लिए । निर्धारित ओभरमा ६ विकेट गुमाएर युएईले २ सय ५४ रन जोड्यो ।

शाइमान अनवरले ८७ तथा मोहमद बुटाले आक्रामक अर्धशतक जोडेपछि यूएईले नेपाललाई २ सय ५५ रनको लक्ष्य दिएको हो । बुटा ५९ रनमा अविजित रहे । यूएईलाई विशाल योगफलतर्फ डोर्‍याउन अनवरले ७० बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ८७ रन बनाए ।

युएईको शतकीय साझेदारी करण केसीले ४२ ओभरको दोस्रो बलमा रिजवानलाई ४५ रनमा विकेटकीपर विनोद भण्डारीबाट क्याच गराउँदै तोडेका थिए । नेपालका लागि करण केसी र पारस खड्काले २–२ विकेट लिए ।

सोमपाल कामी र सन्दीप लामिछानेको नाममा १–१ विकेट रहयो । पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा १ सय ४५ रनले विजयी भएको थियो ।

अब नेपाल र युएइबीच टी२० खेलहरू हुनेछन् ।