२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भटाभट मर्न थाले गाई, दिनका दिन मरेपछि गन्न छाडे



अ+ अ-

कैलाली । हरेक दिन एउटा न एउटा गाईगोरु मरेकै हुन्छन् । रतिलाल चौधरीको कामै भएको छ, तिनको व्यवस्थापना गर्नु । आफैंले चारो खुवाएका गाईको सिनो तान्नुपर्दा उनी कम्ती विरक्तिँदैनन् । बेलाबेला रोइहाल्छन् । मासिक १२ हजार रुपैयाँमा गौशालाका गाई हेरचाह गर्ने जिम्मेवारी हो चौधरीको ।

घोडाघोडी नगरपालिका–७ चुरे फेदीको सिस्नेघारी । अग्ला रूख अनि चारैतिर काँडेतारले घेरेर राखिएका छन् गाईबस्तु, खुला आकाशमुनि । ६ महिनायता निरन्तर मरिरहेका छन् । ‘हरेक दिन गाई मरेको देख्दा मन रुन्छ, कामै छाडिदिऔं जस्तो पनि लाग्छ,’ चौधरीले भने, ‘दिनका दिन गाई मरेपछि गन्न छाडेको छु ।’ कान्तिपुर दैनिकमा खबर छ ।

गौशालामा उनीसहित ५ जना हेरालु छन् । उनीहरू हरेक बिहान सिनो तानेर भीरबाट मिल्काउँछन् । हालैको वर्षा र चिसोले दुई दिनमा १० गाई मरे । सिनोले जंगल क्षेत्र पूरै दुर्गन्धित छ । त्यो ठाउँ गाउँबाट करिब दुई किलोमिटर टाढा पर्छ । कतिपय बाच्छा जंगली जनावरको आक्रमणमा पर्ने गरेका छन् । ‘बाघले राति काँडेतारभित्रै पसी गाईबाच्छा मारेर खान थालेको छ,’ रतिलाल भन्छन, ‘बाघ जहिलेदेखि पल्क्यो, उहिलेदेखि हामी गोठालाले पनि राति बस्न छोडेका छौं ।’ घाम ढल्किएपछि घरतिर लाग्ने उनीहरू बिहान १०र११ बजेतिर आइपुग्छन् । सिनो मिल्काउँछन् अनि बचेका गाई चराउन निस्कन्छन् । चौधरीले हेर्दै गरेको गौशालामा ७ सय ५० गाईगोरु रहेकामा अहिले १ सय २० वटा मात्र छन् ।

घोडाघोडी नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि पूर्व–पश्चिम राजमार्गको सुखड बजारदेखि १५ किलोमिटर उत्तर चुरेको फेदीमा तीनवटा गौशाला स्थापना गरेको छ । सिस्नेरी तिनैमध्ये एक हो । अरू गौशाला चुरेफेदकै कालीभावर र कुन्टीगथाईमा छन् । तिनको अवस्था पनि सिस्नेघारीभन्दा फरक छैन ।

नगरपालिकाले गाई जोगाउने उपाय खोजेको छैन । ‘जंगलमा चरन क्षेत्र सकिएको छ, गाईगोरुका लागि पर्याप्त आहार छैन । कठ्यांग्रिँदो चिसोमा खुला आकाशमा हुलेर राखिएको छ,’ स्थानीय कुशप्रसाद तिवारीले भने, ‘रोग र भोकले चौपायाले दर्दनाक मृत्युवरण गरिरहेका छन् ।’ नगर कार्यपालिकाले गत भदौमा छाडा चौपाया व्यवस्थापन गर्ने निर्णय गरेको थियो । त्यसका लागि ७ नम्बर वडाध्यक्ष धनबहादुर बमको संयोजकत्वमा ४ सदस्यीय समिति बनाइयो । नगरपालिकाले ३० लाख रकम विनियोजन पनि गर्‍यो । अहिलेसम्म १५ लाख रुपैयाँ खर्च भइसकेको छ । बजेट सकिँदै छ, गाई पनि सकिँदै छन् ।

‘तीन ठाउँका गौशाला व्यवस्थापन तथा गाईको आहारामा १५ लाख खर्च भइसकेको छ,’ गौशाला व्यवस्थापन समिति संयोजक बमले भने । नगरपालिकाले सुरुमा १८ जना हेरालु राखेको थियो । अहिले १० जना छन् । सुरुमा २ हजार २ सय छाडा चौपाया राखिएको समिति सदस्य एवं ८ नम्बर वडाध्यक्ष भीमबहादुर बोगटीले बताए । उनका अनुसार अहिले तीन गौशालामा गरी करिब ९ सय चौपाया छन् । १ हजार ३ सयवटा मरिसके । सबै गाई मरेका नभई २० प्रतिशतजति भागेको बोगटीले दाबी गरे ।

स्थानीय भने बजेट दुरुपयोग भएकाले चौपाया आहार नपाएरै मरेको बताउँछन् । ‘छाडा चौपायाले निकै समस्या थियो, व्यवस्थापन गर्नु सराहनीय कार्य हो,’ घोडोघोडी संस्कृत महाविद्यालयका शिक्षक शंकर सञ्ज्यालले भने, ‘तर व्यवस्थापनका नाममा गाईगोरु थुनेर मारेजस्तै भइरहेको छ ।’ व्यवस्थापन गर्न नसके चरन क्षेत्रमा छाडिदिनु राम्रो हुने उनको भनाइ छ ।

अर्का स्थानीय लालमणि रानाले प्रत्येक वडामा गौशाला निर्माण गरी व्यवस्थापनको जिम्मेवारी दिनु उत्तम हुने बताए । ‘एउटा वडा, एउटा टोल बस्तीमा एक सामुदायिक गौशाला भए थोरै गाई हुन्थ्यो,’ उनले भने, ‘राम्रो स्याहार गर्न सकिन्थ्यो ।’ नगरपालिकाले बिरामी गाई पनि बगालमा मिसाउने गरेको रानाले आरोप लगाए । ‘छाडा चौपायाका नाममा मासिक साढे दुई लाख खर्च भइरहेको देखिन्छ,’ उनले भने, ‘तर चौपायाले आहारा नपाएर मर्न थालेका छन् ।’