१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनआन्दोलनका घाईते तथा सहिद परिवारले रुँदै भने : चुनावमा भोट माग्ने बेलामा र सत्ता पुग्ने बेलामा अनेकौ चटक देखाए (भिडियोसहित)



अ+ अ-

काठमाडौं, १६ माघ । जनआन्दोलनका घाईते तथा सहिद परिवारले राज्यले आफूहरुलाई बेवास्ता गरेको गुनासो पोखेका छन् । यद्धपी उनीहरुले राज्यले नसम्झिएपनि रिपोर्टर्स क्लब र यसका सभापति ऋषि धमलाले सम्झिएको बताए ।


बुधबार रिपोर्टर्स क्लब नेपालले सहिद दिवसको अवसर पारेर आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै २०६२÷०६३ को जनआन्दोलनका सहिद यमलाल लामिछानेका छोरा द्रोण प्रसाद लामिछानेले राज्यले आफूहरुलाई नसम्झिएको गुनासो पोखे ।


उनले भने,‘राज्यले हाम्रा अभिभावको रगतलाई चिनेन । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हाम्रा अभिभावले ज्यानको आहुति दिए । तर, राज्यले हामीलाई कहिल्यैपनि सम्झिएन् ।’ आज सहिद दिवस देशव्यापी रुपमा मनाएपनि आफूहरुले सरकारले कुनै वास्ता नगरेको उनको गुनासो छ ।


त्यस्तै उनले वर्तमान सरकार दुई तिहाई बहुमतको भएपनि अहिलेसम्म जनताले सुशासन र शान्तिको अनुभुति गर्न नपाएको बताए । उनले भने,‘नेपाली जनताले नेताहरुको बोलीमा कुनै परिवर्तन देखेका छैन् । लोकतन्त्रमा विभेदहरु अझैपनि हट्न सकेका छैनन् । यो दुःखद कुरा हो ।’ उनले मुलुकमा भ्रष्टाचार, अनियमितता मौलाएकोमा पनि चिन्ता व्यक्त गरे ।


कार्यक्रममा सहिद गोविन्द शर्माकी धर्मपत्नी भगवती शर्माले आन्दोलनमा सहादत प्राप्त गर्ने र घाईते जिउँदा सहिदहरुले राज्यबाट कुनै पनि सम्मान नपाएको गुनासो पोखिन् । उनले भने,‘नेता तथा कार्यकर्ताहरुले अन्तर्राष्ट्रियस्तरको सुविधा लिने तर आन्दोलनमा ज्यान गुमाउने सहिद परिवारले केही पनि पाएनन् ।’


उनले चुनावको बेला मात्रै दलका नेताहरुले सहिद परिवार र घाईतेहरुलाई सम्झिने गरेको र सत्तामा पुगेपछि चटक्कै बिर्सिने गरेको आरोप लगाईन् । उनले सहिदहरुको सम्मानको लागि पनि सरकारले सार्वजनिक विदा दिनुपर्ने माग गरिन् । उनले भनिन्,‘सहिदको सम्मान भएमात्रै देशले समृद्धि हाँसिल गर्छ ।’


हरेक वर्ष सहिद दिवस मनाउँदै गर्दा आफूहरु आफन्त गुमाएको पीडामा पर्ने गरेको पनि उनले बताईन् । तर, राज्यले आफूहरुलाई खासै वास्ता नगरेकोमा उनले आक्रोश पोखिन् ।
शर्माले आफूहरुलाई आजको दिन सरकारले बोलाएको भए सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने थियो भन्नेपनि धारणा राखिन् ।


सहिद चन्द्र बहादुर बयलकोटीकी धर्मपत्नी कल्पना बयलकोटीले मुलुकमा परिवर्तनको लागि आफ्नो श्रीमानले जीवन नै आहुति दिएको र आफ्नो सिउँदो पुछिएको सुनाउँदै राज्यले आफूहरुलाई अहिलेसम्म खासै वास्ता नगरेको गुनासो पोखिन् । उनले भनिन्,‘राज्यले हाम्रा बालबालिकाहरुलाई टुहुरो बनायो । राज्यले सहिद सप्ताह मनाउँदै गर्दा हामीलाई सम्झिएन । धेरै दुःख लागेको छ ।’


उनले चार जना सहिदको मात्रै नभएर २०६२÷०६३ को जनआन्दोलनका २१ जनै सहिदहरुलाई पनि जोडेर शालीक निर्माण गर्नुपर्नेमा जोड दिईन् ।
सहिद ताहिर अली अन्सारीका छोरा अस्गर अली अन्सारीले राज्यले निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए । उनले सहिद परिवारलाई सरकारले बाँच्ने आधार बनाईदिनुपर्ने पनि माग गरे ।


कार्यक्रममा २०६२÷०६३ को जनआन्दोलनका घाईते मेघराज आचार्यले आफू मृत्युले छोडेको व्यक्ति भएको सुनाउँदै नेपालीहरुले खाएको प्रत्येक गाँसमा र फेर्ने प्रत्येक श्वाँसमा सहिदको मूल्य रहेको बताए ।
आफू अहिलेपनि औषधी र उपचारको भरमा बाँचेको आचार्यले सुनाए । तर, राज्यले जनआन्दोलनका घाईतेहरुको उपचारमा कुनै सहयोग नगरेको पनि गुनासो पोेखे । उनले भने,‘राज्यले हामीलाई अवहेलना गरेको छ ।’


थप उपचारको लागि आफूहरु विदेश जान चाहेको भएपनि राज्यले उपचारमा जानको लागि बन्देज लगाएको पनि आचार्यले आरोप लगाए । उनले खास सहिद को हुन ? भनेर सरकारले निक्र्यौल गर्नुपर्ने पनि धारणा राखे ।


स्वास्थ्य मन्त्रालयले विर अस्पतालमा रहेको औषधी पसललाई तिर्नुपर्ने रकम नतिरिदिँदा आफूहरुलाई औषधीको सेवा लिनपनि कठिनाई भएको उनले गुनासो पोखे ।
कार्यक्रममा २०६२÷०६३ को जनआन्दोलनका घाईते सुनिल भट्टराईले राज्यले पछिलो समय हचुवाको भरमा सहिद घोषणा गर्दा बास्तविक सहिदहरुको अपमान भएको बताए । भट्टराईले पछिल्लो समय मुलुकमा सुशासन कायम हुन नसकेको र दण्डहीनता मौलाएको पनि आरोप लगाए ।


उनले आफू अहिलेपनि नियमित औषधी सेवन गर्नुपर्ने बाध्यतामा रहेको सुनाउँदै राज्यले उपचारमा कुनै सहयोग नगरेको गुनासो पनि पोखे ।
त्यस्तै २०६२÷०६३ को जनआन्दोलनका घाईते ढाल बहादुर बस्नेतले लोकतन्त्रको लागि लड्दा आफूले अहिले अपाङगताको जीवनयापन गर्नुपरेको सुनाउँदै अहिलेसम्म राज्यले कुनै वास्ता नगरेको गुनासो पोखे ।


ह्विलचियरमा बसेर आफ्नो धारणा राखेका बस्नेतले सिंहदरबार आफूहरुको मुल्यले बनेको पनि बताए । उनले भने,‘हामी जिउँदा सहिद हौं । हाम्रो परिवारलाई राज्यले भोकै राखेको छ । घाईतेहरुलाई राज्यले लाखापाखा लगाएको छ । अस्पताल धाउँदा धाउँदै घरबास गुमायौं । अहिलेपनि पर्याप्त उपचार पाएका छैनौं । सयौं घाईतेहरुको अपमान भएको छ।’


२०६२÷०६३ को जनआन्दोलनका घाईते युवराज कँडेलले आफूहरु जीवन मरणको दोसाँधमा रहेको बताए । तर, राज्यले आफूहरुलाई कुनै वास्ता नगरेको उनले गुनासो पोखे ।
उनले जनआन्दोलनका घाईतेहरु अब एकजुट भएर राज्यसँग आफूहरुले पाउनुपर्ने सेवा सुविधाकोलागि लड्नुपर्ने धारणा राखे ।