७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

खेलकूदमा फड्को मार्दैछ दाङ

खेलकूदमा फड्को मार्दैछ दाङ
अ+ अ-

नारायणपुर । तीन दशक अगाडि क्रिकेटको लागि मरुभूमि जस्तै थियो दाङ । यहाँ क्रिकेटको नामसम्म नसुनेका मान्छेहरु थिए । अहिले तमाम बाधा अड्चन पन्छाएर क्रिकेटले आफ्नो स्थान बनाएको छ । त्यही भूमिमा क्रिकेटको सम्भावना खोज्दै सङ्घर्ष गर्नेहरुमा कैलाश रोका मगर पनि एक हुनुहुन्छ ।

भारतको देहरादूनमा जन्मिनुभएका रोका नौ वर्षको उमेरमा २०३७ सालमा दाङ भित्रिनु भएको थियो । “मैले भारतबाटै ल्याएको व्याट र क्रिकेट खेल्ने नियम देखेर यहाँका मानिसहरु अचम्म पर्थे,” रोकाले भन्नुभयो । त्यसको छ वर्षमै अञ्जुम सिद्धिकीको कप्तानीमा २०४३ सालमा दाङले पहिलोपटक राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनायो । दाङको लागि त्यो ऐतिहासिक प्रतियोगिता थियो ।

प्रदीप योगीको नेतृत्वमा २०५४ सालमा दाङ जिल्ला क्रिकेट सङ्घको स्थापना भएपछि संस्थागत विकासको सुरुआत भएको मानिन्छ । अहिलेसम्म दाङका सातजना खेलाडीले अन्तर्राष्ट्रिय खेलसमेत खेलिसकेका छन् भने राष्ट्रिय खेलाडीका रुपमा २५ देखि ३० जना क्रियाशील छन् । क्रिकेट सङ्घ दाङका अध्यक्ष प्रदीप मजगैँयाका अनुसार नियमित १०० भन्दा बढी महिला क्रिकेट खेल्दै आएका छन् । पुरुष खेलाडीहरु एक हजार भन्दा बढीको सङ्ख्यामा छन् ।

दाङमा क्रिकेट भन्दा पुरानो इतिहास छ फुटबलको । विसं २०२७ मा घोराहीको पद्मोदय पब्लिक नमूना माविका नारायण सिंह गुरुङ शिक्षक भएर आएपछि घोराही क्षेत्रमा फुटबल शुरु भयो । त्यो भन्दा अगाडिको पुस्ताले पनि अनौपचारिक रुपमा फुटबल खेल्ने गरेको गुरुङको भनाइ छ । दाङ जिल्ला फुटवल सङ्घका महासचिव नरेन्द्र पुनका अनुसार अहिले दाङमा सातौँ पुस्ता खेलिरहेको छ । तुलसीपुर, हापुरसहितका केही स्थानमा महिला फुटबल समूहले जिल्लामा उत्कृष्ट खेल खेल्दैआएका पुनले बताउनुभयो ।

महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गर्दै गर्दा भलिबल, टेबुल टेनिस, ब्याडमिन्टनलगायतका खेलहरु खेल्ने र अरुलाई पनि खेलाउने गरेको गुरुङले बताउनुभयो । दाङ जिल्ला खेलकूद विकास समितिका अनुसार अहिले २५ वटा भन्दा खेलको नियमित प्रशिक्षण भैरहेका छन् । समितिको तथ्याङ्कमा फुटबल, क्रिकेट र भलिबलपछि मार्सल आर्ट, कराँते, तेक्वान्दो, बक्सिङ, टेबुल टेनिस, ब्याडमिन्टन खेलहरुको नियमित प्रशिक्षण हुँदै आएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले बताउनुभयो ।

भौतिक पूर्वाधारमा प्रगति

केही वर्षदेखि दाङमा विभिन्न खेलकूदका पूर्वाधार निर्माण हुन थालेका छन् । पालिकास्तरदेखि केन्द्रीय तहबाट समेत दाङको खेलकूद क्षेत्रको विकासका लागि मैदानहरु निर्माण हुने चरणमा छन् ।

तुलसीपुर उपमहानगरपालिकाले अरनिको मैदानलाई मिनी स्टेडियम बनाई त्यसलाई तालीम केन्द्रका रुपमा विकास गर्ने योजनाअनुसार काम गर्दैछ भने वडा नं १२ मा रु २५ लाखको लागतमा फुटबल अभ्यास केन्द्र निर्माण गरिएको छ । तुलसीपुरमै रु २ करोड ५० लाखको लागतमा बहुउद्देश्यीय कवर्ड हल पनि बन्दै छ । घोराही उपमहानगरपालिका वडा नं १८ मा रु ५० लाखको लागतमा आधुनिक बास्केट बल कोर्ट निर्माण भएको छ ।

गत साउनमा शिलान्यास भएको बेलझुण्डी रङ्गशालाको निर्माण कार्य जारी छ । रु २४ करोड २४ लाख ४५ हजारको लागतमा निर्माण हुने यो रङ्गशाला १० हजार मानिस अटाउन सक्ने क्षमताको हुनेछ ।

तुलसीपुर उपमहानगरपालिकाले नेपालमै पहिलो स्पोर्ट्स सिटीको रुपमा आफूलाई घोषणा गरिसकेको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले पछिल्लो समय दाङको तुलसीपुरसहित पोखरा र इटहरीलाई समेत स्पोट्र्स सिटीको रुपमा विकास गर्ने गरी तयारी गरेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी०को मापदण्डअनुसार बन्दै गरेको लमहीको क्रिकेट मैदानको निर्माण कार्य तीव्र रुपमा अगाडि बढेको लमही नगर विकास समितिका सब–इञ्जिनीयर तुलसीराम अर्यालले बताउनुभयो । समितिको रु १ करोड ३१ लाखको लागतमा आर्थिक वर्ष २०५७/५८ देखि शुरु गरिएको मैदानको पूर्ण रुपमा निर्माण सम्पन्न हुन रु २३ करोड लाग्ने बताइन्छ । बाइस हजार दर्शकले एकैसाथ खेल हेर्न सकिने यो मैदानको निर्माणमा अहिलेसम्म करीब रु २ करोड लगानी भइसकेको छ ।

घोराही उपमहानगरपालिका–१७, गुलरियामा सुविधासम्पन्न क्रिकेट मैदान निर्माण कै चरणमा छ । कुल १५ बिघाको क्षेत्रफलमा गत वर्षदेखि प्रदेश स्तरीय रङ्गशाला निर्माण कार्य थालेको उपमहानगरपालिकाले यस वर्ष रङ्गशाला निर्माण योजना बनाएको मेयर नरुलाल चौधरीले बताउनुभयो । मैदानलाई फराकिलो बनाउन यो वर्ष ७ कट्ठा २ धुर जग्गा खरिद गरिएको छ ।

यस्तै, घोराही उपमहानगरपालिका वडा नं १८ स्थित नवलपुर युवा क्लबले अम्बापुर जग्गा विकास आयोजनाअन्तर्गत छुट्याइएको जग्गामा फुटबल मैदान निर्माण गरेको छ । फुटबल मैदान १०० मिटर लामो र ६६ मिटर चौडा छ ।

जिल्लामा ठूलो लगानीमा खेलकूद मैदानहरु निर्माण हुने क्रममा रहेको दाङ जिल्ला फुटबल सङ्घका महासचिव पुनले जानकारी दिनुभयो । घोराही र तुलसीपुर उपमहानगरपालिकाका साथै लमही नगरपालिकाले प्रत्येक वडामा एउटा सुविधासम्पन्न खेलकूद मैदान निर्माण गर्ने योजना समेत बनाएका छन् ।

सन्तोषजनक बजेट

दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको दाङमा स्थानीय सरकारले खेलकूदको क्षेत्रमा छुट्याएको बजेट सन्तोषजनक रहेको पाइएको छ । वडादेखि गाउँपालिकाका अध्यक्ष र नगर तथा उपमहानगरमा मेयर कप प्रतियोगिता सञ्चालन र भौतिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन हुने गरेको छ ।

चालु आर्थिक २०७५/७६ मा दाङका १० वटा स्थानीय तहले मात्रै रु १ करोड ५० लाखभन्दा बढी बजेट विनियोजन गरेका छन् । स्थानीय खेल मैदान निर्माण, स्तरोन्नति, खेलकूद भवन निर्माण तथा मर्मत, वडास्तरीय तथा अध्यक्ष र मेयर कप खेलकूद सञ्चालनका लागि प्रत्येक पालिकाले बजेट विनियोजन गरेका छन् । घोराही उपमहानगरपालिकाले रु १० लाख बजेटसहित कार्यक्रम निर्माण गरेको छ । यहाँ वडास्तरमा समेत बजेट विनियोजन भएको छ ।

बबई गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ८० लाख ५० हजार बजेटसहित कार्यक्रम निर्माण गरेको छ । विकट गाउँपालिकाको रुपमा रहेको बबई गाउँपालिकाले हंशपुर खेल मैदानका लागि रु १० लाख, पञ्चकुले खेल मैदानका लागि रु। १० लाख, वडास्तरको खेलका लागि रु। ७ लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

यस्तै, लमही नगरपालिकाले रु २० लाख, राप्ती गाउँपालिकाले रु १० लाख, राजपुर गाउँपालिकाले रु ५ लाख र दंगीशरण गाउँपालिकाले रु ५ लाख बजेट छु्टयाएका छन् भने अन्य गाउँपालिकाले १ लाखदेखि माथि बजेट विनियोजन गरेको पाइएको छ ।

लाखौँको लगानीमा भौतिक पूर्वाधारहरु निर्माण हुँदै गर्दा अहिले पनि धेरै खेलाडीहरु बगरमा नाङ्गो खुट्टा फुटबल खेल्न बाध्य छन् । स्थानीय स्रोतसाधनको प्रयोग गरेर क्रिकेट खेल्नेहरु गाउँमा थुप्रै रहेको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डाँगीले बताउनुभयो ।

दाङमा फुटबल, क्रिकेट, भलिबल र मार्सल आर्ट बाहेक अन्य खेलको विकास पर्याप्त मात्रामा हुन सकेको छैन । अध्यक्ष डाँगीले भन्नुभयो – ‘खेल प्रत्येक मानिसको जीवनसँग जोडिने विषय रहेछ । त्यसैले पनि स्रोतसाधनको अभाव सधैं हुने रहेछ ।” खेलाडीहरुको अनुपातमा खेल मैदानको अभाव नै रहेको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष मजगैँयाको विश्लेषण छ । “जिल्लामा कोचको व्यवस्था अहिलेसम्म गर्न सकिएको छैन,” अध्यक्ष मजगैँयाले भन्नुभयो – “राज्यले खेल क्षेत्रलाई हेर्ने दृष्टिकोण अझै फराकिलो बन्न सकेको छैन । खेलकूद प्राथमिकतामा पर्न सकेन, अहिलेको सबैभन्दा ठूलो चुनौती यही हो ।”

खेल भनेको मनोरञ्जन मात्र नभई प्राविधिक विषय पनि भएकाले राज्यले नियमित तालीम तथा प्रशिक्षणको व्यवस्था गर्नु अपरिहार्य भएको खेलप्रेमीहरु बताउँछन् ।