२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा विधेयक पारित भयो



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच राष्ट्रिय सभाले पनि चिकित्सा शिक्षा विधेयक पारित गरेको छ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकको सुरूदेखि नै नेपाली कांग्रेसका सांसदहरूले उभिएर विरोध गरेका थिए। चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव दर्ता गराए पनि अवरोध गरेकाले उनीहरू छलफलसमेत बहिष्कार गरे।

चिकित्सा शिक्षा विधेयकमाथि राष्ट्रियसभामा दुईवटा संशोधन प्रस्तावसमेत दर्ता भएको थियो । राजपा सांसद वृषेशचन्द्र लाल र नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीसहितका सांसदहरुले छुट्टाछुट्टै संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

संशोधन प्रस्तावमाथि छलफल गर्दै राजपा सांसद लालले उक्त विधेयक थप छलफलका लागि विधायन समितिमा पठाउन माग गरे । अर्का संशोधनकर्ता सांसद अधिकारीले भने छलफलमा भाग लिएनन् ।

दुबै संशोधन प्रस्तावलाई अध्यक्ष गणेश तिमिल्सिनाले निर्णयार्थ पेश गरेका थिए । दुबै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

प्रतिनिधि सभाबाट पारित भइसकेको यो विधेयक अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछ।