काठमाडौं । अमेरिकामा एउटा नक्कली विश्वविद्यालय खडा गरेर १२९ जना विद्यार्थीलाई पक्राउ गरेको घटनाको भारतले विरोध जनाएको छ ।
अमेरिकी सरकारी अधिकारीहरूले अवैध आप्रवासनप्रति निशाना साध्दै नक्कली विश्वविद्यालय खडा गरेर उनीहरुलाई पक्राउ गरेको पाइएपछि भारतले कूटनीतिक रुपमा विरोध जनाएको हो ।
अमेरिकाको आन्तरिक सुरक्षासम्बन्धी होमल्याण्ड सेक्युरिटी मन्त्रालयका गुप्तचरहरूले ‘पे–टू–स्टे’ भनिने आप्रवासनसम्बन्धी गलत कार्य पत्ता लगाउन फर्मिङ्टन विश्वविद्यालय मिसिगन राज्यमा रहेको भनेर विज्ञापन गरेका थिए । तर सो विश्वविद्यालय कागजमा मात्रै सीमित थियो ।
अभियोजकहरुले भर्ना हुन आएकालाई सो विश्वविद्यालय अवैध भएको थाहा भएको उल्लेख गरेका छन् । तर भारतीय अधिकारीहरूले भने ती विद्यार्थीहरूलाई छल गरिएको उल्लेख गरेका छन् ।
भारतीय विदेश मन्त्रालयले अमेरिकामा पक्राउ परेका विद्यार्थीहरूप्रति गम्भीर चासो देखाउँदै दिल्लीस्थित अमेरिकी दूतावासमा उनीहरूलाई कन्सुलर पहुँच दिन आग्रह समेत गरेको छ ।
भारतलेल ती विद्यार्थीहरूलाई विश्वविद्यालयमा भर्ना गर्ने नाममा छल गरिएको हुन सक्ने भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न समेत माग गरेको छ ।
भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘हामीले अमेरिकी हिरासतमा रहेका सबै विद्यार्थीको पूर्ण विवरण भारत सरकारलाई दिन आग्रह गरेका छौं । यथाशीघ्र उनीहरूलाई हिरासतबाट मुक्त गर्न भनेका छौँ र उनीहरूको इच्छा विपरीत भारत नफर्काउन भनेका छौं ।’
अमेरिकास्थित भारतीय दूतावासमा हिरासतमा रहेका विद्यार्थीबारे चिन्तित आफन्तहरूले सम्पर्क गर्न टेलिफोन हटलाइनको व्यवस्था गरिएको द टाइम्स अफ इन्डियाले जनाएको छ । दिल्लीस्थित अमेरिकी दूतावासले भारत सरकारको कुटनीतिक पत्र प्राप्त गरेको पुष्टि गरेपनि त्यसबारे कुनै टिप्पणी गरेको छैन ।
अमेरिकामा यस्तो घटना भएको यो पहिलो घटना भने होइन । सन् २०१६ मा यसरी नै २१ जनालाई पक्राउ गरिएको थियो । त्यसबेला पक्राउ पर्नेमा चिनियाँ र भारतीय रहेका थिए ।
फर्मिङ्टन विश्वविद्यालयको वेबसाइटमा कक्षामा पढिरहेका विद्यार्थीहरूको तस्बिर, पुस्तकालय र हरियो चौरसहितको प्राङ्गण समेत देखाइएको थियो ।
सो विश्वविद्यालयका नाममा निकालिएको विज्ञापनमा स्नातक भन्दा तल्लो तहका विद्यार्थीलाई वर्षको ८ हजार ५ सय डलर ट्युसन फि र स्नातक तहका विद्यार्थीका लागि ११ हजार डलर तोकिएको थियो । जसको कुनै कार्यक्रमहरू उल्लेख नभएको क्यालेन्डर सहितको झुटो फेसबुक पेज समेत थियो ।
तर गत साता प्रकाशित अदालती कागजातहरूमा सो विश्वविद्यालयका कर्मचारीहरू आप्रवासन तथा भन्सार कार्यान्वयन निकाय आइसीइका गोप्य एजेन्टहरू रहेको पाइएको उल्लेख थियो । डेट्रोइट न्यूजका अनुसार हिरासतमा रहेकामध्ये धेरैलाई भारत फर्काइने छ ।
विदेशी नागरिकलाई गैरकानूनी रूपमा भर्ना गराएर अमेरिका बस्न प्रेरित गर्ने ८ जनालाई षड्यन्त्रको आरोपमा कारबाही गरिने बताइएको छ । समाचार राजधानी दैनिकमा छ ।