२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसममा सुधार हुने



अ+ अ-

काठमाडौँ उपत्यकासहित मुलुकभर बदली भई बिहीबार बिहानबाट वर्षा भएको छ । आइतबारबाट मौसममा सुधार आउने जनाइएको छ


मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले आइतबारबाट देशको पहाडी भूभागमा आंशिक बदली रहने र अन्य भूभागमा सामान्यतः सफा रहने सम्भावना रहेको बताए ।
पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरबाट आएको दक्षिण पश्चिमी वायुको प्रभावले मौसम बदली भई बिहीबारबाट मुलुकभरि वर्षा र हिमाली भेगमा हिमपात भएको हो ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।


त्यसैगरी, देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपात र उच्च पहाडी तथा हिमाली भेगको एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।
यस्तै, शुक्रबार राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, पूर्वी भेगका एक दुई स्थानमा भारी वर्षाको सम्भावना हुनुका साथै देशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
त्यसैगरी, शनिवार दिउँसो देशको पश्चिमी भूभागमा आंशिक बदली हुनुका साथै मध्य र पूर्वका केही स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
शनिवार राति देशको मध्य र पूर्वी भेगमा आंशिकदेखि सामान्य बदली हुनुका साथै देशको पश्चिमी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । गोरखापत्र दैनिकमा खबर छ ।