२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाउचाउ र फ्रुटीमा लोभ्याएर बालिकाको बलात्कारपछि हत्या



अ+ अ-

काठमाडौं । जनकपुरधाम फ्रुटी र चाउचाउमा लोभिँदा धनुषाकी ११ वर्षीया बालिका रेश्माको ज्यान गएको खुलेको छ । छिमेकीको बिहे भोजमा रमाइरहेकी धनुषा मिथिला नगरपालिका—३ हरिहरपुर मगरटोलकी दुतिया रसाइली ९रेश्मा०लाई बिहेमै आएका एक युवाले फ्रुटी र चाउचाउमा लोभ्याएर बलात्कारपछि हत्या गरेका हुन् ।

फागुन १ गते राति ८ः३० बजेसम्म रेश्मा बाजाको धुनमा नाच्दै मख्ख थिइन् । तर, उनले त्यो रमाइलो भोलिपल्ट बिहान परिवारसँग साट्ने अवसर पाइनन् । नाचगानकै बीचमा लाइन गयो । अँध्यारो भएपछि केही केटाकेटीबाहेक अधिकांश घरतिर लागे । कोही नभएको मौका छोपेर बिहेमा सहभागी हुन आएका २२ वर्षीय नीरज जर्घामगरले रेश्मालाई सिकार बनाए ।

बोल्न नसक्ने रेश्मालाई नीरजले फ्रुटी र चाउचाउ दिएर फकाई खोलाको बाटो हुँदै उत्तरतर्फ करिब २ सय मिटर पर उखुखेतमा लगे ।

रक्सी, लागुऔषध (ट्याबलेट) र गाँजासमेत सेवन गरी मात्तिएका नीरजले रेश्मालाई फ्रुटी र चाउचाउ खान दिए । नीरजले रेश्मालाई जबर्जस्ती करणी गरे ।

बलात्कारपछि अचेत भएकी रेश्माले आफ्नो पोल खोल्ने डरले नीरजले उनको घाँटी थिचेर हत्या गरे । हत्यापछि बालिकाको शव लुकाउने र फिंगर प्रिन्टलगायत प्रमाण नष्ट गर्ने उद्देश्यले शवमाथि सुकेका उखुका पात, बालिकाले लगाएका कपडा र चप्पल राखेर आगो लगाइदिए ।

रेश्माको शवमा आगो लगाएपछि नीरज फेरि विवाहको घरमा गई नाचगान हेरी बसेका थिए । घटनाको भोलिपल्ट बिहान १०ः३० बजे स्थानीयले उखुबारीमा आधा जलेको शव देखे । शवमाथि कुनै लुगा नरहेको कारण पहिचान गर्न मुस्किल थियो । रेश्माले लगाएको स्वेटरको टुक्रा शवमाथि देखेपछि परिवारजनले उनको पहिचान गरेको थियो । उखुबारीमा आधा जलेको शव देखेपछि गाउँलेले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए ।

यसरी समातिए अभियुक्त

धनुषा बटेश्वर गाउँपालिका९४ बैगाली टोल काकाको घरमा बस्दै आएका नीरजको मामाघर हरिहरपुर मगरटोलमा छ । बालिकाको बलात्कारपछि हत्या गरी उनी बिहे घरबाट राति करिब ११ः३० बजे मामाघरमा गई सुते । बिहान उठ्दा गाउँमा बालिका हत्याको हल्ला भइसकेको थियो । नीरज आफैं पनि शव जलाएको ठाउँ हेर्न गए । घटनास्थलबाट मामाघर फर्किएर बिहान १० बजे गाउँबाट भागे ।

संवेदनशील एवं गम्भीर प्रकृतिको घटना भएकाले जिल्ला प्रहरी कार्यालय धनुषा, संघीय प्रहरी इकाइ जनकपुर र प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले अनुसन्धान थाल्यो ।

अनुसन्धानका लागि हेटौंडाबाट तालिम प्राप्त कुकुरलाई पनि परिचालन गरियो । जनकपुर अञ्चल अस्पतालबाट चिकित्सकहरूको फरेन्सिक टोलीले घटनास्थलमा गई अनुसन्धान गर्‍यो ।

घटनास्थल, परिवारजन, आफन्त, प्रत्यक्षदर्शी र घटना भएको अघिल्लो दिनसम्म गाउँमा भएकाको उपस्थितिलाई प्रहरीले सूक्ष्म रूपमा केलायो । प्रारम्भिक अनुसन्धानले नीरज घटना हुँदा र पछि पनि गाउँमा रहेको देखिए पनि प्रहरीको सक्रियता बढ्न थालेपछि भागेको देखायो ।

नीरज आपराधिक प्रवृत्तिका युवा भएको प्रहरीको रेकर्डले देखाएको छ । प्रहरीले उसको खोजतलास तीव्र पार्‍यो । लुकिछिपी भारततर्फ भाग्न लागेको अवस्थामा प्रहरीले नीरजलाई धनुषा विदेह नगरपालिका—२ दुहबीटोलबाट सोमबार पक्राउ गरेको छ ।

चोरीका घटनामा संलग्न रहेको, केटी जिस्क्याएको आरोपमा इलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिई कारबाही गरेको, सार्वजनिक अपराधमा प्रहरी वृत्त कालिमाटीका साथै ३ महिना केन्द्रीय कारागारमा बसिसकेको प्रहरी रेकर्डले देखाएको एसपी शेखर खनालले जानकारी दिए ।

नीरजमाथि जबर्जस्ती करणी, कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

आरोपीलाई कडा कारबाही गर्न माग

परिवारमा भएको अकल्पनीय घटनाले रेश्माका आफन्त सम्हालिन सकेका छैनन् । रेश्माका बुबा एक सातापछि पनि राम्ररी बोल्न सकेका छैनन् । भतिजीको बलात्कार र हत्यामा संलग्नलाई कडा कारबाही गर्न काका देवराज रसाइलीले जाहेरी दिएका छन् ।

धनुषा प्रहरी कार्यालयमा अन्नपूर्णसँग देवराजले भने, ‘हाम्री कलिली छोरीलाई निर्मम तरिकाले हत्या गर्नेलाई आजीवन कारावासको सजाय हुनुपर्छ ।’

बढ्दो बलात्कार

प्रदेश २ मा गत वर्षको तुलनामा यस वर्ष बलात्कारका घटना दोब्बर संख्यामा वृद्धि भएको छ । चालु वर्षको ६ महिनामै प्रदेशभर १ सय ६० वटा जबर्जस्ती करणीका घटना भए । बलात्कारका घटना धेरै चिनजानकै व्यक्तिबाट भएको प्रहरी तथ्यांक छ । चालु वर्षमा भएका बलात्कार घटनामा १ सय ८६ जना पीडक चिनजानका छन् । २ जना आफन्त र २९ जना अपरिचित व्यक्ति छन् ।

बलात्कार पीडित भने १० वर्षभन्दा मुनिका १७, १० देखि १६ वर्षसम्म ७० र १६ वर्षभन्दा माथिका ७३ जना छन् ।

यस वर्ष बलात्कार घटनामा संलग्न १ सय २८ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ भने ९८ जना फरार रहेको प्रहरीले जनाएको छ । जबर्जस्ती करणी उद्योगका ७८ घटना जाहेर भएकामा ५६ जना पक्राउ परेका छन् । ३४ जना फरार छन् । गत वर्ष १ सय ७० जना बलात्कृत भएका थिए ।

साना बालिका छिट्टै लोभमा पर्ने र उनीहरूलाई सजिलै नियन्त्रणमा लिन सकिने हुनाले पनि बलात्कारको सिकार हुने गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआईजी हरिबहादुर पाल बताउँछन् । अन्नपूर्णमा खबर छ ।