६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याएको भन्दै विप्लब विरुद्ध मुद्दा



अ+ अ-

रोल्पा । सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याएको अभियोगमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्रवित्रम चन्दविरुद्ध रोल्पामा मुद्दा दायर भएको छ । तीन वर्षअघि नयाँ पार्टी गठन गरी नेतृत्व गर्दै आएका चन्दलाई राज्यका तर्फबाट पहिलोपटक मुद्दा दर्ता भएको हो ।

यस्तै प्रहरीले रोल्पामा ३ र दाङमा ३ जना जिल्ला नेतालाई पक्राउ गरेको छ ।

चन्दसहित दर्जन नेताविरुद्ध प्रहरीले मंगलबार मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार सरकारवादी फौजदारी मुद्दा दर्ता गरेको हो । रोल्पा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काका अनुसार चन्द नेकपाका नेता कार्यकर्ताविरुद्ध राष्ट्र, राष्ट्रियता र सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याएको अभियोगमा मुद्दा दर्ता गरिएको हो ।

पूर्वी रोल्पाको सुलिचौरस्थित नेपाल टेलिकम र गजुलस्थित एनसेलको टेलिफोन टावरमा क्षति पुर्‍याएको अभियोग उनीहरूमाथि लगाइएको छ । सोही अभियोगमा रोल्पाका ३ जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टीकाराम नेपाली, लालबहादुर सुनार र दीपेन्द्र सिंह छन् । नेपाली गंगादेव गाउँपालिकास्थित जिनाबाङका, सुनार सुनीलस्मृति गाउँपालिकास्थित गजुलका र सिंह घोडागाउँका हुन् । सोमबार पक्राउ परेका उनीहरूविरुद्ध प्रहरीले मंगलबार रोल्पा जिल्ला अदालतमार्फत एक साताका लागि म्याद थपी अनुसन्धान थालेको छ ।

चन्दमाथि टावरमा क्षति पुर्‍याउन निर्देशन दिएको अभियोग छ । नयाँ पार्टी गठनपछि चन्दले तीन वर्षअघि रोल्पाको थबाङमा पहिलो महाधिवेशन गरेका थिए । त्यसयता उनी बेलाबेलामा रोल्पा आउने गरेका छन् । चन्द नेतृत्वले ‘एकीकृत जनक्रान्ति’ गतिविधिको मुख्य आधार रोल्पालाई ठान्दै आएको छ । मुद्दा दर्ता गर्नुअघिदेखि नै प्रहरीले उनको खोजी थालेको छ ।

चन्द जन्मेको परिवर्तन गाउँपालिकास्थित इरिबाङको केवरी गाउँमा समेत प्रहरी परिचालित छ । नेकपा नेता कार्यकर्ता खोजी गर्न जिल्लाभर प्रहरी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याउने अधिकार कसैमाथि नभएको बताए । ‘कानुन मिच्ने कसैलाई छुट दिइने छैन,’ उनले भने ।

कार्यकर्ता पक्राउपछि नेकपा रोल्पाका सचिव सन्तोष सुवेदीले विज्ञप्तिमार्फत विरोध जनाएका छन् । अन्य नेता कार्यकर्ताका घरमा प्रहरीले छापा मारेको उल्लेख गर्दै राज्यबाट दमन भएको आरोप उनले लगाएका छन् ।

उनले पार्टीका राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठा ‘सुवास’, विशेष जिल्ला इन्चार्ज दलबहादुर खत्री ‘जागृति’, जिल्ला नेता कमल थापा ‘बिजुली’, विद्यार्थी नेता दिनेश चन्दलगायतको घरमा प्रहरीले खानतलासी गरेको जनाएका छन् । होलेरीमा आयोजित विद्यार्थीको शान्तिपूर्ण कार्यक्रममाथि दमन गरी रोक लगाइएको दाबी पनि उनको छ । चन्द नेतृत्वको नेकपाका नेताले सत्तापक्षीय नेकपाका नेता तथा ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुनको निर्देशनमा आफूहरूविरुद्ध प्रहरी परिचालित भएको आरोप लगाएका छन् । कान्तिपुर दैीनकमा खबर छ ।