

बग्दाद । इरानका राष्ट्रपति हसन रौहानी तीन दिने औपचारिक भ्रमणको क्रममा सोमबार इराकको राजधानी बग्दाद पुगेका छन् ।
अमेरिकाले इराकलाई छिमेकीहरुको सम्बन्ध सीमित राख्न दबाब दिइरहेका अवस्थामा रौहानीको औपचारिक भ्रमण भएको छ ।
तेहरानबाट प्रस्थान गर्नुअघि रौहानीले इरान र इराकबीच “विशेष सम्बन्ध” रहेको बताए । उनले इरान र इराकबीचको सम्बन्ध इराक र “आक्रमणकारी मुलुक अमेरिका”बीच रहेजस्तो सम्बन्ध होइन भन्दै छिमेकी मुलुकहरुलाई जस्तोसुकै सहयोग गर्न इरान तयार रहेको बताए ।
इराकी र इरानी टेलिभिजनहरुले राष्ट्रपति रौहानीको भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ र सुमधुर हुने बताएका छन् ।
इराकीया टेलिभिजन च्यानलका अनुसार राष्ट्रपति रौहानीलाई बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा इराकका राष्ट्रपतिले स्वागत गरेका थिए । उनले इराकमा रहँदा वरिष्ट इराकी अधिकारीहरु, अरु राजनीतिक नेताहरु तथा धार्मिक नेताहरुसँग भेटघाट गर्ने छन्।
इराकी राष्ट्रपति बरहाम सलिहको निमन्त्रणामा इरानी राष्ट्रपति रौहानी बगदाद पुगेका हुन् । उनिहरुबीच द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा छलफल हुने बताइएको छ ।
इरानी विदेश मन्त्री मोहम्मद जावद जारिफ पनि रौहानीको भ्रमणका बारेमा छलफल गर्न आइतबार नै बगदाद पुगेका थिए ।
इरानी तेल उद्योग, बैंकिङ र यातायात क्षेत्रमाथि कडा अमेरिकी प्रतिबन्धहरु लागू भइरहेका बखत राष्ट्रपति रौहानीले इराकको भ्रमण गरेका हुन् ।
इरान र इराकबीच विगतमा दशौं वर्षसम्म भिषण युद्ध भएको थियो ।