१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव सिप्लव को हो ?, सरकारले कसैलाई चिन्दैन : प्रधानमन्त्री ओली



अ+ अ-

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई सरकारले नचिन्ने बताएका छन् । उनले विप्लव समूह कुनै कुनै दल विशेष र आधिकारिक नभइकन अनाधिकृत झुण्ड भएको कारण सरकारले नचिन्ने बताए ।

विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले विप्लव समूहलाई सरकारले अनाधिकृत झुण्डका रुपमा हेरिरहेको बताए । प्रधानमनत्री ओलीले भने, राजनैतिक दल भन्ने आवरणमा विप्लव समूह विभिन्न विध्वंसात्मक गतिविधीमा लागेको छ यस्तो दल पनि दल हुन्छ ? यसलाई हामी चिन्दैनौ ।

विप्लव समूहको नेकपा कुनै दल वा संस्थाका रुपमा कहीं पनि आधिकारिक रुपमा दर्ता छैन,’ ओलीले भने, ‘विधि र प्रक्रियाअनुसार नचल्ने संस्थालाई विप्लव भएपनि सिप्लव भएपनि सरकारले कसैलाई चिन्दैन ।’

उनले बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधि र जनतालाई धम्क्याउने एवं तर्साउने कार्य सरकारलाई मान्य नहुने स्पष्ट पारे । ‘बम पड्काएर आतंक सिर्जना गर्दै धम्क्याउने र तर्साउने काम भइरहेको छ,’ उनले भने, ‘अनि यस्तो गर्न पाइँदैन भनेर सरकारले प्रतिबन्ध लगाउँदा के को रुवाबासी ?’

कसैले रुवाबासी गरे पनि सरकारले विप्लव समूहलाई निषेध मात्र होइन नियन्त्रण नै गर्ने उनले बताए ।

उनले शान्ति सुरक्षा प्रदान गर्न सरकार दृढ रहेको बताउँदै कुनै पनि बाहनामा शान्ति सुरक्षा खलबबलाउन खोज्ने तत्वलाई सरकारले नछाडने बताए ।

ओलीले विप्लवलाई जनभावनाअनुसार अघि बढेर गम्भीर हिसाबमा राजनैतिक गतिविधी सञ्चालन गर्न पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले संविधान, कानुन विपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने र यस्ता गतिविधिमा सधैं सरकार कठोर बन्ने बताए ।

ओलीले पार्टी एकताको विषय अन्तिम चरणमा पुगेको वताए । उनले पार्टी एकताका विषयमा प्राय सवै विषयमा टुंगो लागि सकेको पनि दावी गरे ।