३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

लगानीकर्ता नझस्किऊन्

लगानीकर्ता नझस्किऊन्
अ+ अ-

 

सोमबहादुर थापा

चैत १५–१६ मा वैदेशिक लगानी सम्मेलन हुँदै छ । सम्मेलनबाट ६३ आयोजना (४६ सरकारी र १७ निजी) मा ३० खर्ब रुपैयाँजतिको लगानी जुटाउने लक्ष्य सरकारले राखेको छ । सम्मेलनमा भारत र चीनको बढी चासो र सहभागिता हुने अपेक्षा गरिएको छ । 

छिमेकी देशको नाताले र नेपालको आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, भौगोलिक, ऐतिहासिक र कूटनीतिक दृष्टिकोणले पनि यी दुई देशले बढी चासोराख्नु स्वाभाविकै देखिन्छ । सम्मेलनमा ३८ भन्दा बढीदेशका सरकार र कम्पनीको सहभागिताको कुरा आएको छ, जुन निकै सराहनीय छ ।

सन् २०२२ र २०३० नेपालको लागि निकै चुनौतीपूर्ण वर्ष बन्न गएका छन् । २०२२ सम्ममा नेपालले अतिकम विकसित मुलुकबाट दोहोरो अंकको आर्थिक वृद्धिसहित मध्यम आय भएको मुलुकमा परिणत हुने लक्ष्य राखेको छ । २०३० सम्म संयुक्त राष्ट्र संघले तोकेको दिगो विकासको लक्ष्य पूरा गर्ने जस्तो ज्यादै चुनौतीपूर्ण उद्देश्य छ । देश राजनीतिक स्थिरतातिर गैरहेको सन्दर्भमा वर्तमान सरकारले धेरै साधनस्रोत जुटाउने उद्देश्यले यो सम्मेलन आयोजना गर्नु सान्दर्भिक हो नै ।

एकातिर सरकारले वर्षेनि १२–१३ खर्बको बजेट विनियोजन गरेर उपारेक्त लक्ष्य हासिल गर्न सम्भव छैन भने, अर्कातिर सरकारसँग पुँजीगत तथा पूर्वाधार विकासका काममा खर्च गर्ने क्षमता पनि देखिँदैन । यसैलाई ध्यानमा राखेर अर्थविद्हरू नेपालमा कम्तीमा पनि वार्षिक रूपमा १८–२० खर्बको वार्षिक बजेट विनियोजन हुनुपर्ने तथा सरकारले पूर्वाधार र दिगो विकासका कार्यक्रमलाई बढी साधनस्रोत विनियोजन गर्नुपर्ने तर्क गरिरहेका छन् ।

सरकारले साधारण खर्च बढाउँदै लगिरहेको छ । नेपालमा सबै सरकार साधारण र फजुल खर्च बढाउन अग्रसरै भएको पाइन्छ । सरकारले पुँजीगत खर्चको परिमाणमा उल्लेख्य रूपमा वृद्धि गर्न नसक्तासम्म दिगो आर्थिक विकासको लक्ष्य प्राप्त गर्न सक्ने देखिँदैन ।

अर्कातिर, वैदेशिक लगानी वा वा नेपाल सरकारको स्रोतमा सञ्चालित आयोजनाहरू पनि निर्धारित समयमा सम्पन्न भएको देखिँदैन । ठेक्का हचुवामा लगाउने र हचुवामै रद्द गर्ने प्रवृत्तिले पनि वैदेशिक लगानीलाई प्रभावित पार्ने देखिन्छ । शिक्षामा निजी लगानीलाई निरुत्साहित गर्ने नेपालको हालको चर्को बहसले पनि वैदेशिक सम्मेलनलाई प्रभाव पार्ने देखिन्छ ।

वैदेशिक लगानी सम्मेलन गरेर मात्रै हुँदैन, सम्मेलनमा आएका प्रतिबद्धतालाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता राख्न पनि जरुरी छ । दाताहरूको चासो र चाहना पनि सरकारले बुझ्न आवश्यक छ । किनभने लगानीकर्ताका आफ्नै चासो र इच्छा हुन्छन्, तिनलाई सरकारले सम्बोधन गर्न सकेन भने उनीहरू अर्को देशतिर पनि मोडिन सक्छन् ।

अहिलेको लगानीको परिणाम, आर्थिक वृद्धि र नीति, प्रक्रिया, योजना निर्माणमा देखिएका ढिलासुस्ती, असहयोगी र अनुदार राजनीतिक–सामाजिक वातावरण, लगानीको असुरक्षा, सुस्त र प्रक्रियामुखी प्रशासन संयन्त्र अनि कार्यशैली तथा सरकार–निजी क्षेत्र अविश्वासको वातावरणबाट यी दुवै महान् लक्ष्य तथा उद्देश्य पूरा गर्न नेपाललाई त्यति सहज भने देखिँदैन ।

गत आर्थिक वर्षभन्दा यस पालि आठ महिनाको अवधिमा वैदेशिक लगानी ६८ प्रतिशतले घटेको छ । गत आवमा वैदेशिक लगानी लगभग ३५ अर्ब भएको थियो । चालु आवका आठ महिनामा त्यो ११ अर्ब २५ करोड मात्र देखिएको छ । वैदेशिक लगानी किन घट्यो भन्नेमा सरकारले गम्भीरतापूर्वक विश्लेषण गरी कमी–कमजोरी सच्याउनुपर्छ ।

नेपालको पुँजी बजार एक वर्षदेखि आरोलो लागिरहेको छ । आन्तरिक लगानीकर्ताहरू पनि उपर्युक्त वातावरणले गर्दा लगानी गर्न हिचकिचाइरहेका छन् । तसर्थ उपर्युक्त लक्ष्यहरूलाई पूरा गर्न र देशमा आर्थिक समृद्धि र विकासको गतिलाई बढाउन पनि सरकारलाई बढीभन्दा बढी साधनस्रोत जुटाउनुपर्ने बाध्यता छ ।

यसका लागि सरकारले आन्तरिक अविश्वासको वातावरण हटाई खुल्ला र उदार किसिमले निजी क्षेत्रसँग सहकार्य गर्ने नीति अख्तियार गर्नु जरुरी छ । अहिलेको समयमा संसारभरि नै सरकारी क्षेत्र एक्लैले देश विकासको गतिलाई अगाडि बढाउन सक्तैन । यसका लागि सरकारले निजी क्षेत्र, गैरसरकारी क्षेत्र र वैदेशिक लगानीलाई पनि विश्वासमा लिएर अगाडि बढ्न अयवश्यक छ । यो संसरभरि नै स्थापित मान्यता पनि हो ।

चीन र भारतकै उदाहरण लिने हो भने पनि चीनका लोकप्रिय नेता देङ सियायो पिङ र भारतका पूर्वप्रधानमन्त्रीहरू पीभी नरसिंह राव र मनमोहन सिंहले उदारीकरणको नीति नलिएका भए विश्व रंगमञ्चमा चीन र भारतलाई यसरी उदीयमान अर्थतन्त्र भएका मुलुकका रूपमा स्थापित हुन गाह्रो पर्थ्यो ।

यसैलाई ख्याल गरेर होला, नेपालले लगानी सम्मेलन आयोजना हुने बेला विदेशी लगानी तथा प्रविधि हस्तान्तरण, विशेष आर्थिक क्षेत्र, सार्वजनिक–निजी साझेदारी तथा लगानी लगायत धेरै सुधारवादी विधेयक सदनमा पेस गरेको छ । केही पारित भइसकेका छन् र केही टुंगोमा पुग्ने क्रममा छन् ।

यी विधेयक अलि अगाडि नै प्रस्तुत गर्न सकिएको भए व्यापक रूपमा बहस र छलफल गरी यिनलाई अझ बढी राम्रो बनाउन सकिन्थ्यो । यसबाट लगानीकर्तालाई पनि आश्वस्त पार्न सजिलो हुन्थ्यो । यसको फाइदा सरकारलाई नै बढी हुन्थ्यो । सरकारले समयमै यतातिर पर्याप्त ध्यान दिएको देखिएन ।

यी कानुन बन्नु साह्रै राम्रो हुँदै हो, यिनको कार्यान्वयन झन् महत्त्वपूर्ण हो । नेपालमा कानुन नराम्रा बनेका होइनन्, इमानदारीसाथ तिनको कार्यान्वयन नहुँदा धेरै समस्या उब्जेका हुन् । त्यसैले लगानी सम्मेलनको मुखमा बन्न लागेका कानुनको कार्यान्वयनमा पनि त्यही समस्या आउँछ कि भन्ने आशंका हुनु अन्यथा होइन । सरकारले यस्ता सन्देहलाई चिरेर अगाडि बढ्ने आँट र साहस देखाउनुपर्छ ।

नेपालमा विसं २०७३ मा पनि लगानी सम्मेलन गरिएको थियो । त्यसबेला १४ खर्ब बराबरको प्रतिबद्धता सुनिए पनि त्यो कार्यान्वयनमा आएन । यसबारे सरकारले अहिलेसम्म अध्ययन–अनुगमन गरेको देखिँदैन । सरकारले यसको अध्ययन–विश्लेषण भित्रभित्रै गरेको होला र सम्मेलनका बेला आफ्नो दृष्टिकोण राख्ला पनि ।

२१ औं शताब्दीको सरकारको भूमिका विगतका सरकारको भन्दा धेरै फरक हुन्छ, हुनु पनि पर्छ । यो समयमा सरकारले विकासका लागि उपयुक्त नीति र कानुन बनाउने, सहजीकरण गर्ने, भएका कामहरूको अनुगमन र मूल्यांकन गर्ने तथा कमी–कमजोरी हटाउनेतर्फ ध्यान दिनु उपयुक्त देखिन्छ ।

सरकार गठन भएपछि उदारीकरण तथा निजी क्षेत्रको भूमिकाबारे सत्तासीन दलका शीर्ष नेताहरूका भनाइले आन्तरिक र बाह्य लगानीकर्ताहरूलाई झस्काइरहेको देखिन्छ । यस्तो सम्मेलनको आयोजना गर्नुपूर्व सरकारले वैदेशिक लगानीको उपयोग, उदारीकरण, बजार व्यवस्था, निजी क्षेत्रको भूमिका र सहकार्य, औद्योगिक लगानी, प्रविधि हस्तान्तरण सम्बन्धी उपयुक्त वातावरणको तयारी, शान्ति–सुरक्षाको स्थितिबारे आफ्नो नीति र कार्यक्रम स्पष्ट पार्न सकेको भए अझ राम्रो हुने थियो ।

यस्तो सम्मेलन गर्नु भनेको विदेशीहरूलाई नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न आमन्त्रण गर्नु हो । सरकारले लगानीकर्तालाई कर छुट दिने, लगानीको सुरक्षाको प्रत्याभूति दिने, कर तिरेर बढी भएको सम्पत्ति विदेश लान पाउने लगायतका सुविधा देखाएर लगानी गर्न आकर्षित गर्नु अत्यावश्यक देखिन्छ ।

त्यसअगाडि देशमा शान्ति–सुरक्षाको अवस्था, औद्योगिक सुरक्षाको स्थिति, बलजफ्ती चन्दा असुली, बन्द–हडताल जस्ता समस्या लगानीकर्ताले खेप्नुपर्ने छैन भनी सरकारले सुनिश्चितता दिनु अत्यावश्यक छ । किनभने लगानीकर्ताले सबभन्दा पहिला आफ्नो पुँजीको सुरक्षा खोज्छ, त्यो सुरक्षित हुन नसके उसको जिन्दगी नै समाप्त हुन्छ ।

अर्को कुरा, विदेशीहरू पनि आफ्नो देशका बैंक वा अन्य माध्यमबाट ऋण लिई नेपालमा पुँजी लगानी गर्न आउने हुन् । लगानीको सुरक्षा नभए निश्चय नै उनीहरू नेपालमा आकर्षित हुँदैनन् । यो गुह्य लगानी सम्मेलनको आयोजकलाई हेक्का हुनु आवश्यक छ । (साभार कान्तिपुर दैनिक)