काठमाडौँ । वैदेशिक रोजगार विभागले कलिङ भिसा आइसकेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय गरेको छ । जेठ २ गतेदेखि बन्द भएपछि कलिङ भिसा पाएका झन्डै ७ हजार नेपाली कामदारले मलेसिया जान पाएका थिएनन् ।
विभागले श्रम स्वीकृति दिन वैदेशिक रोजगार कार्यालयलाई आइतबार पत्र पठाएको छ । वैदेशिक रोजगार व्यवसायी संघले गत कार्तिक १२ मा सम्पन्न द्विपक्षीय श्रम समझदारीको मर्म र भावनाअनुसार कार्यान्वयन गर्ने जिम्मेवारी लिएपछि विभागले कलिङ भिसा (प्रवेश भिसा) आइसकेको नेपाली कामदारलाई श्रम स्वीकृति दिने निर्णय गरेको हो ।
विभागका अनुसार अहिलेलाई कलिङ भिसामा जानेले मात्रै श्रम स्वीकृति पाउनेछन् ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले श्रम सम्झौताको मर्म र भावनाअनुसार कडाईका साथ कार्यान्वयन गर्न व्यवसायीहरु प्रतिबद्ध रहेको बताए ।