
काठमाडौँ । बारा र पर्सामा आएको हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई राप्रपा संयुक्तले १२ हजारका दरले राहत उपलब्ध गराएको छ ।
शुक्रबार अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीको तर्फबाट प्रतिपरिवार १२ हजार नगदसहित लत्ताकपडा वितरण गरेका हुन् ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाराको कलैया उपमहानगरपालिको वडा नम्बर १२ र १८, फेटा गाउँपालिकाको वडा नम्बर १, ६ र ७ हावाहुरीबाट बढी प्रभावित भएको छ ।
यसैगरी बाराकै प्रसौनी गाउँपालिकाको वडा नम्बर ४ र ६, महागढीमाई नगरपालिकाको ७, देवताल गाउँपालिकाको ७, पचतौरा नगरपालिकाको ७ र २, परवानीपुर गाउँपालिकाको वडा नम्बर ४ र सुवर्ण गाउँपालिकाका वडा १, ४, ५ र ८ मा पनि हावाहुरीबाट जनधनको क्षति पुगेको छ ।
हावाहुरीका कारण ६७८ जना घाइते भएका छन् । घाइतेहरुको वारा, पर्सा र रौतहटका अस्पतालमा उपचार भइरहेको छ। हुरीका कारण रुख, विजुलीका पोल ढल्दा धेरै मानवीय क्षति भएको हो ।
हावाहुरीले पर्साको वीरगञ्ज महानगरपालिकाको वडा नं १८ र २२ तथा बौदरमाई नगरपालिकाको वडा नं ४ पनि प्रभावित भएको छ ।
पर्सामा मात्रै १२२ वटा घरमा पूर्ण र ३८७ वटा घरमा आंशिक क्षति भएको छ । तीनवटा विद्यालय, तीनवटा उद्योग र दुईवटा मन्दिररमस्जिद पनि भत्किएका छन् ।










