
काठमाडौं । मंसिरदेखि अवरुद्ध हुँदै आएको कोशी करिडोर २२० केभी प्रसारण लाइनको काम सुचारु भएको छ । आयोजनाको प्रस्तावित रुटबाटै प्रसारण लाइन निर्माण गर्न उपमहानगरपालिका सहमत भएपछि काम सुरु गरिएको आयोजना प्रमुख राजन ढकालले बताएका छन् ।
अवरोध हटेपछि बिहीबारदेखि विष्णुपादुका क्षेत्रमा प्रसारण लाइन निर्माणको काम सुरु भएको हो । यसअघि १७ वटा टावर निर्माणमा अवरोध थियो ।
धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले गएको मंसिर २८ गते प्रस्तावित रुटबाट प्रसारण लाइनको निर्माण गरिएमा उपमहानगरपालिका–२०को विष्णुपादुका क्षेत्रमा स्थापित, निर्माणाधीन र पहिचान भएका पर्यटकीय स्थलहरुलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने भन्दै त्यसलाई करिब २ सय मिटर पश्चिमबाट लैजान नेपाल विद्युत प्राधिकरणलाई लिखित रुपमै आग्रह गर्नुभएको थियो । त्यसपछि आयोजनाको निर्माण रोकिएको थियो ।
उपमहानगरपालिकाले उठाएका विषयलाई प्रसारण लाइनले कुनै असर नगर्ने, असर पर्ने केही क्षेत्रहरुलाई लाईनको चेक सर्भे गर्ने क्रममा संबोधन गरिसकिएको र सम्पूर्ण प्रकृया पूरा गरी निर्माण भइरहेको आयोजनाको रुट सार्न नसकिने अडान प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राख्दै आएका थिए ।
प्राधिकरणले उपमहानगरपालिकाले भनेजस्तो कुनै प्रसारण लाइनल असर कुनै असर नपर्ने, निर्माण ढिलाइ भएमा प्रसारण लाईनको निर्माणमा ढिलाई भएमा अहिले निर्माणाधीन अवस्थामा रहेका जलविद्युत आयोजनाहरुबाट उत्पादन हुने अनुमानित ५ सय ५० मेगावाट विद्युत खेर जाने अवस्था आउने, यसबाट राष्ट्रलाई क्षति पुग्ने, प्रवर्द्धकहरुलाई क्षतिपूर्ति लगायतको अवस्था रहेको भन्दै रुट परिवर्तन गर्न अस्वीकार गर्दै आएको थियो ।










