
काठमाडौं । एभरटनले आर्सनललाई १–० ले पराजित गर्दै इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित हात पारेको छ । आईतवार भएको खेलमा एभरटनको जितमा गुडिसन पार्कमा रक्षक जागिइल्काले १० औं मिनेटमा गोल गरेका थिए ।
लुकास डिग्नेको लामो थ्रोमा डोमिनिक कलभर्ट लेविनको हेडमा जागिइल्काले गोल गरेका थिए ।
आर्सनलले पहिलो हाफमा निकै कमजोर खेलेको थियो र दोस्रो हाफमा पनि टोलीले एभरटनका गोलरक्षक जोर्डन पिकफोर्डको खासै परीक्षा लिन सकेन ।
एभरटन जितपछि वाटफोर्डलाई पछि पार्दै नवौं स्थानमा उक्लिएको छ । आर्सनल चौथो स्थानमा यथावत् छ ।
६ खेल खेल्न बाँकी रहेको अवस्थामा टोटेनहम ६४, आर्सनल र चेल्सी ६३ तथा म्यानचेस्टर युनाइटेड ६१ अंकसाथ क्रमशः तेस्रोदेखि छैटौं स्थानमा छ । प्रिमियर लिगको शीर्ष चार टोली च्याम्पियन्स लिगमा छानिने प्रावधान छ ।










