
वीरगञ्ज । नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन ओछ्याउन नौ किमी मात्रै बाँकी रहेको छ । नेपाल तर्फको ३६ दशमलव २ किलोमिटर भू–भागमध्ये बाँकी रहेको नौ किलोमिटर क्षेत्रमा पनि काम भरहेको छ ।
मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपाल तर्फको ३६ दशमलव २ किलोमिटर भू–भागमध्ये बाँकी रहेको नौ किलोमिटरमा मात्रै पाइप ओछउन बाँकी रहेको हो ।
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्न त्यस क्षेत्रका नौ किलोमिटर भित्र पर्ने रुख काट्ने तथा पाइप जोडने काम तीव्रगतिमा भइरहेको छ । सो क्षेत्रमा दुई किलोमिटर पाइप गाडने काम सम्पन्न भइसकेको छ ।
तीव्र गतिमा बाँकी काम भइरहेकाले सो काम चाँडै सकिएर जमीनमुनि पाइप गाड्ने काम सम्पन्न भएपछि भारतबाट पेट्रोल ल्याउने काम शुरु हुने परियोजनाका इञ्जिनीयर शरदकुमार पौडयालले बताए । बढीमा तीन महीनाभित्र काम सम्पन्न भई भारत बिहारको राजधानी पटनाबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आउने परियोजना कार्यालय सिमराले जनाएको छ ।
सो क्षेत्रमा ६ हजार ५६३ रुख काटने काम तीव्रगतिमा भइरहेको छ । उता भारतको मोतिहारीदेखि रकसौल नाका सम्म ३३ दशमलव ७ किलोमिटर भू–भागको काम सम्पन्न भइसकेको भारतीय आयल कर्पोरेशनले जनाएको छ ।
नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइपलाइन निर्माणको लागि भारत सरकारले ३५० करोड भारतीय लगानी गरेको बताइएको छ ।









