
काठमाडौंं । पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो क्रम बिहिबारसम्म नै जारी रहने छ । पूर्वी तथा मध्य तराईमा भने आँधीहुरी चल्ने प्रक्षेपण जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणको प्रभावले पुनः वर्षा दोहोरिएको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । यसअघि महाशाखाका मौसमविदले सोमबारबाट मौसममा क्रमिक सुधार आउने बताएका थिए ।
आज देशभरि नै हल्कादेखि मध्यम खालको वर्षा हुने बताइएको छ । प्रिमनसुनको समयमा मध्याह्नपछि मेघगर्जन, हल्का वर्षा, हावाहुरी चल्ने र चट्याङ पर्ने सामान्य गतिविधि रहेको मौसमविद्को भनाइ छ ।
काठमाडौं उपत्यकामा अझै केही घण्टा पानी पर्ने छ । तर दिउँसोपख पानी पर्न रोकिए पनि बदलीको अवस्था भने रहिरहने अनुमान छ ।
अहिले प्रिमनसुन सक्रिय छ । मौसमविदहरुका अनुसार नेपालमा सामान्यता मार्च, अप्रिल र मेसम्म प्रिमनसुन गतिविधि हुन्छ र जुन १० बाट मनसुन सुरु हुन्छ । अघिल्लो वर्षसँग तुलना गर्दा यस वर्ष प्रिमनसुन असामान्य तरिकाले सक्रिय छ ।
भोलि देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रही अपराह्नपश्चात् मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । बिहीबार देशका पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।









