७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैले गर्न नसकेको काम एक बर्षमा ओली सरकारले गरेर इतिहास रचेको छ : मन्त्री महासेठ



अ+ अ-

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारले यो एक वर्षमा कसैले गर्न नसकेको काम गरेर ईतिहास रचेको दाबी गरेका छन् ।

मन्त्री महासेठले भने,‘यो एक वर्षमा सरकारले कसैले नसोचेको काम गरेको छ । हामीले ऐतिहाँसिक काम गरेका छौं । सरकारको पहिलो वर्ष आधार वर्ष भएको छ ।’

मन्त्री महासेठले मुलुक एकात्मक शासन व्यवस्थाबाट संघात्मक शासन व्यवस्थामा प्रवेश गरेकोेले आफूहरुले सोहीअनुसार व्यवस्थापन गर्न समय खर्चिएको स्पष्ट पारे । उनले थपे,‘तीन तहका सरकार निर्माण भएका छन् । तिनीहरुको लागि बजेट, साधनस्रोत, कर्मचारी र कार्यालयको व्यवस्थापन गर्यौं । योजनाहरु बाँडफाँड गरेका छौं ।’

मन्त्री महासेठले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमै ८ सय किलोमिटर रोड पिच गरेको पनि दाबी गरे । उनले थपे,‘६ लेन, चार लेन र २ लेनका ८ सय किलोमिटर सडक पिच भएको छ । सय भन्दा बढि पुलहरु बनेका छन् । ९ सय वटा त नयाँ ट्रयाकहरु खुलेको छ ।’

त्यस्तै, काठमाडौं–केरुङ र रक्सौल–काठमाडौं रेलमार्गको लागि प्रि–फिजिविलटीको काम सम्पन्न भएको उनले जनाए । उनले क्रस बोर्डर रेलवे निर्माणको काम भैरहेको बताए । यही आर्थिक वर्षभित्र जयनगर–जनकपुर रेल सञ्चालनमा आउनेपनि उनले स्पष्ट पारे ।

निर्माण कार्यमा गलत गर्नेहरुलाई सरकारले कारबाही गरिरहेको पनि उनले स्पष्ट पारे । उनले भने,‘पप्पु कन्स्ट्रक्शनलाई नेपालगञ्जको पुल ठेक्कामा ५ करोड ७२ लाख जरिवाना गरिसकेका छौं । हामीले त्यो पुल बनाउनेगरि उपायपनि दिएका छौं । समस्याको समाधान गर्नुपर्छ । सरकार गम्भिर छ।’

मन्त्री महासेठले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउनेगरि काम गरिरहेको विश्वास दिलाए । उनले भने,‘हामी सबै बालबालिकालाई विद्यालय पठाउँछौं । कसैलाई पनि शिक्षाबाट बञ्चित गराउँदैनौं ।’ त्यस्तै उनले सरकारी चिकित्सकहरु सरकारले खटाएको ठाउँमा जानुपर्ने बताए । उनले भने,‘सरकारले जे निर्णय गरेको छ, त्यो सही छ ।’