
काठमाडौं । सात्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले बालुवाटारस्थित ललिताविनास परिसरमा रहेको जग्गा कानुन अनुसार नै खरिद गरेको बताएका छन् ।
बुधबार जारी विज्ञप्तिमा पौडेलले उक्त जग्गा २०६१ पुस २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रे्रस्ता कायम रहेको बताएका छन् ।उनले सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन गरेको उल्लेख गरेका छन् ।
“कानुन बमोजिम लाग्ने राजस्व लिई रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएको हुँदा समाचारमा उल्लेख भए जस्तो जग्गा हिनामिनामा म र मेरो परिवारका सदस्यको कुनै संलग्नता छैन् । ” पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनले “नागरिक” दैनिकलगायत अन्य सञ्चारमाध्यममा प्रकाशित/प्रसारित समाचारबाट भ्रममा नपर्न सबैमा आग्रह समेत गरेका छन् ।
आज मात्रै नागरिक दैनिकमा सत्तारुढ दलकै शक्तिशाली नेताले व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा आठ आना जग्गा खरिद गरेको लेखेका थिए ।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलका छोरा नवीनका नामा ललितानिवास परिसरमा जग्गा रहेको उल्लेख गरेका थिए ।
पौडेलको स्वामित्वमा रहेको आठ आनासहित ललितानिवासको ११३ रोपनी तीन अना जग्गा सरकारले रोक्का राखिसकेको पनि लेखेका थिए ।
पूर्णपाठ
मिति : २०७५ चैत २७ गते
प्रेस वक्तव्य
आज २०७५ चैत २७ गते “नागरिक” दैनिकलगायत अन्य कतिपय सञ्चारमाध्यममा मेरो नाम जोडेर प्रकाशित÷प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको छ । जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता ओझेल पर्ने गरी समाचार प्रकाशित÷प्रसारित भएकोमा मलाई दुःख लागेको छ ।
२०६१ पुस २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रे्रस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी प्रचलित कानुनबमोजिम लाग्ने राजस्व लिई रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएको हुँदा समाचारमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा म र मेरो परिवारका सदस्यको कुनै संलग्नता नरहेको व्येहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु ।“नागरिक” दैनिकलगायत अन्य कतिपय सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित यस प्रकारका समाचारबाट भ्रममा नपर्न सबैमा हार्दिक अनुुरोध गर्दछु ।
विष्णुप्रसाद पौडेल
बुटवल – ८, रुपन्देही









