६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सय घडियाल गोही राप्तीमा छाडियो



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोहीलाई राप्ती नदीमा छाडिएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार अन्दाजी पाँच वर्ष उमेरका गोही नदीमा छाडिएको हो । यससँगै हालसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७८५ पुगेको छ ।

खड्काका अनुसार यसै वर्षका बच्चादेखि ४० वर्ष उमेरसम्मका ४०० को हाराहारीमा गोही रहेका छन् । निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० गोही छाडिसकिएको छ ।

नदीमा गोही छाड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् ।

नेपालका नदीहरूमा छाडिएका गोही पानीसँग भारत पुग्ने गरेका छन् । गण्डक ब्यारेजका कारण गोही भारततर्फ जान सक्छन् भने फर्किन सक्दैनन् । जसका कारण नेपालमा हुर्काएर नदीमा छाडेका गोही भारत पुग्ने गरेका हुन् ।

सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । ठूलो सङ्ख्यामा हुर्काएका छाडिने भए पनि नदीमा सङ्ख्या विस्तार भने हुनसकेको छैन ।

नदीहरू प्रदुषण बन्दै जाँदा पनि सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष गोही भएका नदी किनारबाट अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ ।