
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्रि ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।
कुलेखानी तेस्रोको ४.२ किलोमिटर मुख्य सुरुङमा पानी हालेर परीक्षण सकिएको र त्रिशूली थ्रि एको करिब ५ किलोमिटर मुख्य सुरुङमा बुधबारबाट पानी हाली परीक्षण सुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
‘विभिन्न समस्या झेल्दै रुग्ण बनेका दुई आयोजनाहरु निरन्तरको प्रयासपछि निर्माणको अन्तिम चरणमा पुगी विद्युत उत्पादन गर्ने अवस्थामा पुगेका छन्’,कार्यकारी निर्देशक घिसिङले भने । ‘कुलेखानी तेस्रोको मुख्य सुरुङको परीक्षण सम्पन्न गरी पानी भरेर राखेका छौं, यो आयोजनको महत्पूर्ण माइलस्टोन हो, विद्युत् गृहका टर्वाइन, जेनेरेटर लगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरुको जडान सम्पन्न गरी परीक्षणको क्रममा रहेका छन्, असारभन्दा अगाडिनै विद्युत उत्पादनको लक्ष्यका साथ काम भइरहेको छ ।’
हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेड (Zhejaing Jinlun Electromechanical Co.Ltd)को लापरबाही र कमजोर कार्यसम्पादनका कारण कुलेखानी तेस्राको निर्माण ढिलाइ भएको हो ।
विद्युत गृह,सुरुङ लगातका सिभिल संरचना निर्माण गर्न ठेक्का लिएको चिनिया“ कम्पनी सिनो हाइड्रो ( Sinohydro Corporation) ले एकतर्फी ठेक्का तोडेको थियो । यसले गर्दा पनि आयोजनाको निर्माण प्रभावित भएको थियो ।
प्रसारण लाइनको तीनमध्ये दुई वटा टावरको निर्माण सकिएको आयोजना प्रमुख सुभासकुमार मिश्रले जानकारी दिए । ‘विद्युत् गृहका उपकरणको परीक्षणसँगै प्रसारण लाइनको बाँकी एउटा टावर खडा गरी करिब ५ सय मिटर तार तान्ने काम सकिन्छ, प्रसारण लाइनका कारणले विद्युत उत्पादन प्रभावित हुँदैन’,उनले भने ।
मकवानपुरमा निर्माण भइरहेको आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित वहाव (Regulated Flow) र खानी खोलाको थप पानी प्रयोग गर्ने छ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो ।
नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा निर्माण भइरहेको आयोजनाको सुरुको लागत २ अर्ब ३३ करोड रुपैयाँ थियो । आयोजनाको निर्माण अवधि बढेसँगै आयोजनाको लागत ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने संसोधित अनुमान छ ।









