
डोटी । खप्तड राष्ट्रिय निकुञ्जलगायत अन्य उच्च लेकाली क्षेत्रमा हिमाली गिद्धको सङ्ख्यामा वृद्धि भएको छ ।
खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयका अनुसार हाल लोपोन्मुख अवस्थामा पुगेको हिमाली गिद्धको संख्या बढेको छ ।
३०० देखि ६०० मिटरको उचाइमा देख्न पाइने गिद्ध पर्याप्त आहारा, वासस्थानको संरक्षणलगायत पशुमा डाइक्लोफेनेक नामक औषधि प्रयोग नगरिएकाले हिमाली सङ्ख्या वृद्धि भएको हो ।
गिद्धको सङ्ख्या वृद्धि भएसँगै गाउँ घरमा फालिएका सिनो खाएर वातावरण सफा सुग्घर बनाउने गरेको खप्तड राष्ट्रिय निकुञ्जसँगै जोडिएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । नेपालमा हाडफोर, सेतोगिद्ध, डङ्गर, सानोखैरो गिद्ध, हिमाली गिद्ध, खैरोगिद्ध, राजगिद्ध, सुनगिद्ध र लामोठुँडे गिद्ध गरी नौ प्रजातिका गिद्ध पाइने गरेको निकुन्ज कार्यालयले जनाएको छ ।
डङ्गर गिद्ध, सानोखैरो गिद्ध, सुनगिद्ध र लामो ठुँडेगिद्ध अति सङ्कटापन्न अवस्थामा रहेका छन् भने सेतो गिद्ध र हिमाली गिद्ध पनि सङ्कटापन्न अवस्थामा रहेको बताइएको छ ।









