
काठमाडौं । दुई साता अघि पिसाबसम्बन्धि समस्याका कारण पेरिसस्थित अस्पतालमा भर्ना गरिएका ब्राजिलियन फुटबल लिजेन्ड पेलेको शल्यक्रिया गरिने भएको छ।
साओ पाउलोको एक अस्पतालमा शल्यक्रिया गरेर उनको मिर्गौलाको पत्थरी निकाल्ने तयारी गरिएको छ। तर, पेलेको शल्यक्रियाको मिति भने तय गरिएको छैन।
‘उनको स्वास्थ्य सामान्य अवस्थामा फर्किंदै छ,’ साओ पाउलोको अल्बर्ट आइन्सटाइन इसराइलाइट अस्पतालले विज्ञप्तिमार्फत भनेको छ, ‘उनको सबै परीक्षण भइसकेको छ र उनी मिर्गौलाको पत्थरी निकाल्न तयार छन्।’
पछिल्लो समय पेलेको स्वास्थ्यमा समस्या देखिएको छ । सन् २०१५ मा प्रोस्टेटमा समस्या देखिएपछि उनी ब्राजिलको एक अस्पतालमा भर्ना भएका थिए । त्यस्ते एक वर्षअघि पनि उनको मृगौलामा समस्या देखिएपछि डायलाइसिस गर्नु परेको थियो ।









