२९ मंसिर २०८२, सोमबार
,
Latest
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर अग्नि खरेलले छाडे ओलीको साथ, सचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता एमाले महाधिवेशनः भीम आचार्यद्वारा उपाध्यक्ष पदमा मनोनयन दर्ता यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको हालसम्म वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु भएको छ । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु भएको थियो ।

घिमिरेका अनुसार गैँडाको आक्रमणबाट तीन, बाघको आक्रमणबाट तीन र हात्तीको आक्रमणबाट छको मृत्यु भएको हो । तीमध्ये १० मध्यवर्ती क्षेत्रमा र दुई निकुञ्ज क्षेत्रमा भएका घटना हुन् । मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट आक्रमण भएमा क्षतिपूर्ति दिने व्यवस्था रहेको छ भने निकुञ्जभित्रै भएका घटनाको क्षतिपूर्ति दिइँदैन ।

निकुञ्जका अनुसार चालू आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ३० घाइते भएका छन् । गत आर्थिक वर्षको यसै अवधिमा ३१ घाइते भएका थिए । सरकारले निकुञ्ज बाहिर वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको परिवारलाई रु १० लाख र घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्दै आएको छ । त्यसैगरी बालीनाली क्षति भएमा अधिकतम रु १० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था छ ।

घिमिरेका अनुसार विगत वर्षको समेत गरी चालू आर्थिक वर्षमा रु एक करोड २८ लाख क्षतिपूर्ति रकम वितरण गरिसकिएको छ । मृत्यु भएकाको एक महीनाभित्रमा क्षतिपूर्ति दिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । विगतका वर्षमा क्षतिपूर्ति पाउन छ महीनाभन्दा बढी समय लाग्ने गर्दथ्यो ।

मध्यवर्तीका बासिन्दा घाँस, दाउरा, खर, निगुरोलगायतका वस्तु लिन जङ्गल जाने गर्दछन् भने नदीमा माछा मार्न जाने गर्दछन् । सोही क्रममा एक्कासी जम्काभेट हुँदा वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन् । वन्यजन्तु निकुञ्जबाट मध्यवर्ती क्षेत्रमा आउने क्रम बढ्नु र स्थानीय पनि जङ्गल जाने क्रम बढ्नुले आक्रमणको घटना बढी भएको घिमिरेले बताउनुभयो ।