काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बिरालो बाँधेर श्राद्ध गरे जस्तो गरी सरकारले आगामी बर्षको बजेटका प्राथमिकता र सिद्धान्त निर्धारण गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा आफ्नो धारणा राख्दै उनले बजेटका सिद्धान्त र प्राथमिकतामा वैचारिक अलमल र अस्पष्टता रहेको बताए।
उनले भने, ‘अर्धनिन्द्रामा भएको मान्छेले हाइ काड्दै अल्छि लागि लागिकन निबन्ध लेखेजस्तो कर्मकाण्डी प्रकारको दस्तावेज आयो।’
उनले नीति तथा कार्यक्रममा जस्तै सिद्धान्त र प्राथमिकतामा चालू आर्थिक वर्षका बारेमा सरकारले गरेको विश्लेषण तथ्यसँग मेल नखाएको बताए।
पूँजीको राम्रो परिचालन नगरिकन विकासमा फड्को मार्न नसकिने भन्दै उनले आन्तरिक पूँजी परिचालनलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने तर्क गरे।