१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दही किन्न रेल रोक्दा चालक निलम्बित



अ+ अ-

इस्लामाबाद । पाकिस्तान रेलवेका एक चालकलाई दही किन्नका लागि रेल रोकेको भन्दै निलम्बन गरिएको छ । पाकिस्तानका रेलमन्त्री आजम खान स्वातीले काहना रेलवे स्टेशन नजिकै दही किन्न जाने क्रममा रेल रोक्ने चालक र उनका सहायकलाई निलम्बन गरेका हुन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोलाई लिएर मन्त्रीले कारबाही गरेका हुन् । भिडियोमा रेल चालकले रेल रोकेर पसलबाट दही किनिरहेको देखाइएको छ ।

उक्त भिडियो क्लिप सार्वजनिक भएपछि दुर्घटना, यात्रुको सुरक्षा र घट्दो राजस्व जस्ता विभिन्न मुद्दाका कारण समस्यामा परेको रेल विभागको आलोचना भएको थियो । त्यसपछि मन्त्रीले कारबाही गरे र पाकिस्तान रेलवे लाहोर प्रशासनलाई चालक राना मोहम्मद शहजादलाई निलम्बन गर्न आदेश दिए। सहायक चालक इफ्तिखार हुसेनलाई पनि कारबाही गरिएको बताइएको छ ।

मोबाइल फोन प्रयोगमा प्रतिबन्ध

‘म भविष्यमा यस्ता घटना सहने छैन र कसैलाई पनि व्यक्तिगत प्रयोजनका लागि राष्ट्रिय सम्पत्ति प्रयोग गर्न दिने छैन’,  मन्त्रीले चेतावनी दिए। यसअघि डिसेम्बरको सुरुमा पाकिस्तान रेलवेले यात्राका क्रममा लोकोमोटिभ चालक र सहयोगीहरूलाई मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

उनीहरूलाई सबै रेलहरू (यात्रु र सामान) मा सेल्फी लिन, उनीहरूको फोनमा भिडियो र अडियो सन्देशहरू रेकर्ड गर्न पनि रोक लगाइएको थियो। रेलका चालक दलका सदस्यहरू (विशेषगरी चालक र तिनका सहायकहरू) माथि निगरानी राख्न र कसैले आदेशको अवहेलना गरेमा तुरुन्त कारबाही गर्न सम्बन्धित डिभिजन प्रमुखहरूलाई निर्देशन दिइएको छ।