१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सार्वजनिक जग्गा अतिक्रमणः अतिक्रमित जग्गा खोज्दै बेनी नगरपालिका

सार्वजनिक जग्गा अतिक्रमणः अतिक्रमित जग्गा खोज्दै बेनी नगरपालिका
अ अ+ अ-

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा सार्वजनिक जग्गा, पुल, सडक र खोल्सा अतिक्रमणमा परेका छन् । 

सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने दायित्व बोकेको बेनी नगरपालिकाले हटाउनुपर्ने अतिक्रमित संरचनालाई भाडामा लगाएर वैधता दिएको छ । सस्तोमा सम्झौता गरेको जग्गामा टहरा बनाएर महङ्गोमा भाडामा लगाउने प्रवृत्ति बढेको बेनीका पहलबहादुर खत्रीले बताउनुभयो ।

“नगरपालिका र जिल्ला प्रशासन कार्यालयले अतिक्रमण भएको सार्वजनिक जग्गा हटाउने कार्यमा अग्रसर बनेका छैनन्”, उहाँले भन्नुभयो, “सार्वजनिक जग्गा संरक्षण गर्नुको साटो भाडामा लगाउने गरिएको छ ।” बेनी नगरपालिका–१० पात्लेखेतको आरसीयुपीको भवन धवलागिरि बोर्डिङ स्कुलले भाडा नतिरी प्रयोग गरेको छ । बेनीको क्याम्पस चोकको जग्गा पुरानो खोल्साले ओगटेको छ । त्यस क्षेत्रका अधिकांश घर सार्वजनिक जग्गामा बनेका छन् । बेनी अस्पतालको जग्गा मिचेर न्यू वेष्ट प्वाइन्ट आवासीय माविले सडक बनाएको छ । कालीपुलस्थित बालमन्दिर आधारभूतको जग्गा र नगरपालिका भवन पछाडिको जग्गा सुकुम्वासी र अव्यवस्थित बसोबासीको नाममा अतिक्रमण भएको छ ।

खाद्य संस्थानबाट किनेका जग्गा र बेनी नगरपालिकालाई दिएको चार आना जग्गाको भवन पनि व्यक्तिको कब्जामा छ । अख्तियारले निर्देशन दिए पनि गलेश्वरको रिभरसाइड होटल र हाडेभिरमा कुलदीप जुग्जालीले मोटरेबल पुल अतिक्रमण गरेर बनाएको टहरा हटाउन बेवास्ता भएको छ । पर्वत–बेनी जोड्ने झोलुङ्गे पुल र न्यूरोड पछाडिको प्रकाश माविको जग्गा पनि अतिक्रमण भएको छ । बेनी नगरपालिका–२ हाडेभिरको सार्वजनिक जग्गा लिएर कृषि औजार कारखाना चलाउनुका साथै टहरा बनाएर अन्य व्यवसायीलाई भाडामा लगाएका छन् । स्थानीवासी कुलदीप जुग्जालीले खेर गएको जमिन नगरपालिकालाई भाडा तिरेर संरक्षण गरेको बताउनुभयो । 

“खेर गएको ठाउँमा उद्योग चलाएर ५० जनालाई रोजगारी दिएको छु”, उहाँले भन्नुभयो, “लोपोन्मुख आरन उद्योग चलाएर रोजगारी दिएको र सस्तोमा कृषि औजार उत्पादन तथा मर्मत गरेकामा प्रोत्साहन गर्नुका साटो हटाउन खोजेर दुःख दिने काम भएको छ ।” बेनी नगरपालिकामा जनप्रतिनिधि निर्वाचित हुनेबित्तिकै नगर क्षेत्रको सार्वजनिक जग्गाको पहिचान र संरक्षण गर्ने निर्णय गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतले अतिक्रमित जग्गामा बनेका भौतिक संरचना हटाउन गरेको निर्देशन तथा फैसला कागजमै सीमित भएको छ ।

बेनपा–२ का वडाध्यक्ष हीराबहादुर थापाले कार्यपालिकाको बैठकले गरेको निर्णय अटेर गरेर आफूखुसी सार्वजनिक जग्गामा संरचना बनाएर अतिक्रमण गरेका बताउनुभयो । “हाडेभिरको संरचना हटाउन भनेर ताकेता गरेका छौँ”, उहाँले भन्नुभयो, “अटेर गरेर खाली गर्नुभएको छैन ।” बेनीबजारमा सडकको क्षेत्राधिकारमा निर्माण भएका संरचना हटाउन प्रशासन, सुरक्षा निकाय र नगरपालिकाको टोलीले नापजाँच तथा हटाउन अनुरोध गर्दै घरदैलो गरेका थिए । बेनी नगरपालिका–८ कालीपुलमा नापी कार्यालयको प्रविधिक सहयोगमा अतिक्रमण भएको सार्वजनिक जग्गा छुट्याइएको वडाध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो ।

“व्यक्तिसँग जोडिएको साँधसिमानमा रहेको सार्वजनिक जग्गा छ जनाले ओगटेको भेटियो”, उहाँले भन्नुभयो, “पत्र काटेर वा फोनमार्फत जानकारी गराएर सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता गरेका छौँ ।” आयस्रोत जुटाउन सार्वजनिक जग्गा भाडामा लगाउने तत्कालीन अर्थुङ्गे गाविसले सुरुआत गरेको नीतिको कमजोरीमा टेकेर एकै व्यक्तिले व्यवसायका नाममा सस्तोमा सम्झौता गर्ने र अरुलाई भाडामा लगाउने विकृति बढेको हो । 

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले अतिक्रमण भएको जग्गा र संरचना हटाउनका लागि नगरपालिकाले सहयोग मागेमा साथ दिन तयार रहेको बताउनुभयो । “नगरपालिकाले स्पष्ट लेखेर सहयोग माग्यो भने हामीले अतिक्रमण हटाउन साथ दिन तयार छौँ”, उहाँले भन्नुभयो, “यो–यो जग्गा यो–यो व्यक्तिले कब्जा गरेको छ भनेर नगरपालिका आउनुप¥यो ।” नगरपालिकाले पछिल्लोपटक बेनपा–७ को चार आना जग्गा र हाडेभिरको मोटरेबल पुलको टहरा हटाउन सहयोग माग्दै प्रशासनमा पत्र पठाएको जनाएको छ ।