काठमाडौं । गाउँ नजिकैको जङ्गलमा लागेको आगो निभाउन गएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार जिल्लाको जोरायल गाउँपालिका–३ सुनिखोला बस्ने वर्ष अन्दाजी ३५/३६ की दुर्गादेवी साहुको आगलागीमा परेर मृत्यु भएको हो ।
आगोले जलेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
डोटीमा गएको एक महीनायतादेखि जङ्गलमा भीषण आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि विभिन्न प्रयास भइरहे पनि आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
आगलागीका कारण यहाँका विभिन्न सामुदायिक तथा कबुलियती वन गरी करीब ७८० हेक्टर वन सखाप भएको डिभिजन वन कार्यालय डोटीका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीले जानकारी दिए ।