१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोरपाटनमा चिसो बढ्यो, जाडो छल्न बेँसी



अ+ अ-

बलेवा । ढोरपाटनमा जाडो बढेपछि ढोरपाटनका बालबालिका चिसो छल्न बेँसी झरेका छन् । ढोरपाटनमा जाडो मौसममा हिउँ पर्ने भएकाले बालबालिका बेबाङस्थित जनवादी विद्यालय र अन्य विद्यालयमा झरेका छन् ।

पशु चरन र आलुखेती गर्न ढोरपाटनमा बसेका अभिभावकसमेत विस्तारै बेँसी झरेका हुन् । उनीहरु चैत लागेपछि मात्रै ढोरपाटन उक्लने गर्छन् । अधिकांश बालबालिका र अभिभावक बेँसी झरिसकेका छन्, केही झर्ने तयारीमा छन् । “मेरा परिवारका सदस्य सबै बेँसी झरिसके, अब म पनि झर्ने तयारीमा छु”, तमानखोला गाउँपालिका–२ का पूर्णबहादुर छन्त्यालले भन्नुभयो, “चिसो बढेपछि ढोरपाटनमा बस्न सकिँदैन ।” 

बालबालिका बोबाङमा झरिसकेकाले ढोरपाटनस्थित जनवादी आधारभूत विद्यालय बन्द गरिएको स्थानीय अभिभावक आइते विश्वकर्माले बताउनुभयो । काम विशेषले आफू गाउँमै बसेपछि बालबालिका बेँसी झरिसकेका उहाँले जानकारी दिनुभयो । ढोरपाटनका अधिकांश मानिसको बोबाङ, निसी र बुङ्गादोभानमा जग्गा तथा घर छ । खेतीपातीका लागि उनीहरु गर्मी मौसममा लेकमा जान्छन् भने चिसो बढेपछि बेँसी झर्ने गरेका हुन् ।

बालबालिका बेँसी झरेपछि ढोरपाटनको ज्ञानोदय माविमा पनि विद्यार्थी सङ्ख्या बढेको प्रधानाध्यापक यामबहादुर कायतले बताउनुभयो । “बालबालिका पढ्न आउँछन्, नआऊ भन्न मिलेन, चिसो समयमा फर्निचर पनि पुग्दैन”, उहाँले भन्नुभयोे, “गर्मी लागेपछि भने उनीहरु ढोरपाटन जान्छन्, विद्यालय सुनसानजस्तै हुन्छन् ।” माथिल्लो कक्षाका बालबालिका अभिभावक नभए पनि घरमै बस्ने भएकाले विद्यार्थी नघट्ने उहाँले बताउनुभयो । साना बालबालिका भने अभिभावककै साथमा जाने आउने गर्छन् ।

ढोरपाटनमा अधिकांश किसानले आलुखेती गर्छन् । उक्त आलु भित्र्याएपछि पशु चरन गर्ने र आगामी वर्ष आलु लगाउने योजनामा उनीहरूले बसाइँसराइ गरिरहन्छन् । “आलु उत्पादन गर्ने, बुर्तिबाङमा बेच्ने र जीवन चलाउने गरेका छौँ”, स्थानीय चन्द्रसिंह कुमाइले भन्न्ुभयोे, “आलु नलगाए किसानलाई खानै पुग्दैन ।”

उच्च पहाडी क्षेत्र भएकाले धानखेती भने हुँदैन । ढोरपाटनका जनवादी आधारभूत विद्यालयसँगै ज्योति विकास मावि र सरस्वती प्राविमा पनि बालबालिका घटेका छन् । अत्यधिक जाडो हुँदा अस्थायी विद्यालय नभएकाले पनि बन्द गराउँछन् । बस्ती सुनसान भए पनि ढोरपाटन घुम्नेको सङ्ख्या भने बढेको छ । गुल्मी, पर्वत, बागलुङ, म्याग्दी तथा प्यूठानबाट बढी मानिस घुम्न आउने गरेको वडा नंं ९ का सदस्य पानबहादुर विकले बताउनुभयो ।

पर्यटक धेरै नै आउँछन्, कतिपयले रमाइलोका लागि आउँछन् भने कतिपयले समूहको अध्ययन अवलोकनस्थल पनि ढोरपाटन बनाउने गरेका छन् । ढोरपाटनमा आउनेले यहाँका सांस्कृतिक पहिचान, लोकगीत सङ्गीत र कला तथा संस्कृतिको पनि खोजी गर्ने गरेको होटल व्यवसायीले बताउनुभयो । सामुदायिक घरबासमा बस्ने र होटलमा बस्ने पाहुनाले गीतसङ्गीतका लागि दोहोरीको व्यवस्थापन गरिदिनसमेत आग्रह गर्ने गरेको विकले बताउनुभयो ।

आरक्षमा चिसो बढे पनि कर्मचारी भने नियमित बस्ने गरेको सिनियर गेम स्काउटर वीरबहादुर थापाले बताउनुभयो । “चिसो, गर्मी भनेर स्थानीय बासिन्दाजस्तो हामी सर्न पाइँदैन, बरु यो बेला हुनसक्ने चोरी सिकारीमा ध्यान दिनुपर्छ”, थापाले भन्नुभयो, “चिसो सहेरै हामी बस्ने गरेका छौँ ।” चिसो बढेपछि फोन तथा इन्टरनेटमा समेत समस्या आउँदा सूचना सञ्चारमा कठिनाइ हुने उहाँले बताउनुभयो । यहाँ रहेको नेपाली सेनाको गुल्म र आरक्ष कार्यालयले भने चिसो बढे पनि ढोरपाटन छाड्न पाइँदैन ।