२२ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह



अ+ अ-

खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।

भवन निर्माणका लागि २०७७ असार ३० गते ठेक्का सम्झौता गरिएको थियो । कुल २७ कोठे चारतले प्रशासनिक कार्यालय भवन सात वर्षपछि सम्पन्न भएसँगै गाउँपालिकाको सम्पूर्ण सेवा आइतबारदेखि आफ्नै प्रशासनिक कार्यालय भवनबाट सुरु गरिएको हो ।

प्रशासनिक भवनका लागि २०८० साल असार २२ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी ठेकेदार कम्पनी रविना–अविसासँग सम्झौता गरिएको थियो । निर्धारित समयभन्दा करिब छ वर्ष दुई महिनापछि भवन निर्माण सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी मुकेश गेलालले जानकारी दिनुभयो ।

प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण सुरु गरिएको प्रशासनिक भवनका लागि गाउँपालिकाले रु चार करोड ९५ लाख ९७ हजार ७१५ लागत अनुमान गरेको थियो । ठेकेदार कम्पनीले भने मूल्य अभिवृद्धि करसहित रु तीन करोड ७५ लाख ४९ हजार ३३२ मा निर्माण सम्पन्न गरेको हो ।

गाउँपालिकाको नवनिर्मित प्रशासनिक कार्यालय भवन आइतबार गाउँपालिका अध्यक्ष लोकेन्द्र राई र उपाध्यक्ष अरुणा थापामगरले औपचारिक उद्घाटन गर्दै सेवा प्रवाहको शुभारम्भ गर्नुभयो । भवन उद्घाटन तथा प्रशासनिक सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष राईले ढिलै भए पनि गाउँपालिकाको आफ्नै प्रशासनिक कार्यालय भवनबाट जनतालाई सेवा प्रवाह गर्न पाउँदा खुसी लागेको बताउनुभएको छ ।

गाउँपालिकाको नवनिर्मित भवनका लागि आवश्यक फर्निचर ठेकेदार कम्पनीमार्फत खरिद गरिएको छ । फर्निचर खरिदका लागि रु ९३ लाख ६२ हजार २१० मा इन्द्रलक्ष्मी कन्स्ट्रक्सनसँग सम्झौता गरिएको थियो ।

विसं २०८० भदौ ३१ गते सम्झौता गरिएको सो काम २०८१ जेठ २० गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । फर्निचर खरिदमा रु ६४ लाख ३३ हजार ५५५ खर्च भएको गाउँपालिकाका सूचना अधिकारी गेलालले जानकारी दिनुभयो ।

गाउँपालिकाको प्रशासनिक कार्यालय भवन निर्माणका लागि स्थानीय दाताले सात रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । वडा नं ५ याङ्सोलाटार निवासी होमप्रसाद राई, हर्कराज राई, भविन्द्र राई र इन्द्रप्रकाश राईले आफ्नो नामको जग्गा गाउँपालिकाको नाममा निःशुल्क पास गरिदिनुभएको हो ।

स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गामा अस्थायी टहरा निर्माण गरेर सञ्चालन गरिएको गाउँपालिकाको प्रशासनिक भवन सुविधासम्पन्न भवनमा सारिएसँगै सेवा प्रवाहमा सहज भएको छ ।

तत्कालीन गाउँपालिका अध्यक्ष एवं प्रदेशसभा सदस्य भूपेन्द्र राई नेतृत्वको जनप्रतिनिधिले प्रशासनिक भवन निर्माणको काम सुरु गरेको हो । रासस