१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सरकारको ‘बाहुबली’ शासन बन्द गरियोस् : डा.केसी

सरकारको ‘बाहुबली’ शासन बन्द गरियोस् : डा.केसी
अ अ+ अ-

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले सरकारले स्वेच्छाचारी ढंगले अघि बढिरहेको भन्दै बाहुबली चरित्र नदेखाउन आग्रह गरेका छन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै केसीले सरकारका पछिल्ला गतिविधि र संसदमा दर्ता भएका विभिन्न विधेयकले सरकारको स्वेच्छाचारिता देखिने उल्लेख गरेका छन्।

उनले भनेका छन्– ‘देशमा अभिव्यक्ति स्वतन्त्रतासहितको लोकतन्त्र हामी नागरिकहरुकै पसिना, रगत र बलिदानीबाट प्राप्त भएको हो, कुनै अमुक नेताको बाहुबल, बहादुरी वा प्रपञ्चबाट आएको हैन। लोकतन्त्र स्थापित भए यता जति पनि सरकारहरु बने, ती सबैले नागरिकहरुको सेवा गर्ने जिम्मेवारी पाएका हुन्, हामीमाथि स्वेच्छाचारी शासन गर्ने, हाम्रो स्वतन्त्रता कुण्ठित हुने वा संविधान प्रतिकुल काम गर्ने अनुमति पाएका हैनन्। लोकतन्त्रमा कार्यकारी लगायत राज्यको कुनै पनि अंग सर्वशक्तिमान वा निरंकुश हुन सक्दैन, पाउँदैन।’

उनले सर्वशक्तिमान भएको दम्भ र भ्रम पालेको अहिलेको सरकारले लोकतन्त्रको मर्मलाई आत्मसात नगरेको आरोप समेत लगाएका छन् । उनले जति नाजायज काम गरे पनि संसदको बहुमत देखाएर त्यसको औचित्य देखाउन सकिन्छ भन्ने भ्रम सरकारमा परेको भन्दै विधेयकले स्वतन्त्रताप्रेमी नागरिकलाई नराम्रोसँग झस्काएको उनले उल्लेख गरेका छन् ।

केसीको विज्ञप्तिको पूर्णपाठ:

देशमा अभिव्यक्ति स्वतन्त्रतासहितको लोकतन्त्र हामी नागरिकहरुकै पसिना, रगत र बलिदानीबाट प्राप्त भएको हो, कुनै अमुक नेताको बाहुबल, बहादुरी वा प्रपञ्चबाट आएको हैन। लोकतन्त्र स्थापित भए यता जति पनि सरकारहरु बने, ती सबैले नागरिकहरुको सेवा गर्ने जिम्मेवारी पाएका हुन्, हामीमाथि स्वेच्छाचारी शासन गर्ने, हाम्रो स्वतन्त्रता कुण्ठित हुने वा संविधान प्रतिकुल काम गर्ने अनुमति पाएका हैनन्। लोकतन्त्रमा कार्यकारी लगायत राज्यको कुनै पनि अंग सर्वशक्तिमान वा निरंकुश हुन सक्दैन, पाउँदैन।

तर सर्वशक्तिमान भएको दम्भ र भ्रम पालेको अहिलेको सरकारले लोकतन्त्रको यस्तो मर्मलाई आत्मसात गरेको छैन। त्यसैले जति नाजायज काम गरे पनि संसदको बहुमत देखाएर त्यसको औचित्य देखाउन सकिन्छ भन्ने भ्रम सरकारमा परेको देखिन्छ। पछिल्लो समय सिलसिलावद्ध रूपमा सरकारले ल्याएका अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने विधेयकले हामी स्वतन्त्रताप्रेमी नागरिकलाई नराम्रोसँग झस्काएका छन्। सरकारका त्यस्ता कदमहरु संविधानप्रदत्त नागरिक अधिकारलाई कुण्ठित गर्दै देशको राजनीतिक व्यवस्थालाई नियन्त्रित लोकतन्त्र हुँदै निरंकुशतातिर धकेल्ने संस्थागत प्रयासका रूपमा आएकोमा द्वुविधा छैन।

यो अवस्थामा हामी आमनागरिकले के बुझ्नु जरूरी छ भने अहिले मिडियाको घाँटी थिचिनु वा मानव अधिकार आयोगका पखेटा काटिनु भनेको ती संस्थासम्बद्ध मानिसको भन्दा बढी आम नागरिकको सरोकारका विषय हुन्। किनभने मिडिया बलियो र स्वतन्त्रता हुँदा र त्यसले शक्तिशालीलाई जवाफदेही बनाउँदा हित हुने भनेको आमनागरिकको हो। बलियो र स्वायत्त राष्ट्रिय मानव अधिकार आयोगको अभावमा खण्डित हुने हाम्रै मानव अधिकार हो। त्यस्तै विश्वविद्यालयहरुको स्वायत्तता खोसिनु र न्यायालय दलीय भर्ती केन्द्र बन्नु पनि खास पदाधिकारी वा न्यायधीशका भन्दा पनि त्यहाँ शिक्षा र न्याय खोज्न जाने हामी नागरिकको सरोकारका विषय हुन्। राज्यका सबै संस्था अन्ततः नागरिककै सेवा, सुरक्षा र विकासका लागि स्थापित भएका हुनाले तिनको क्षयीकरण तथा तिनमाथि हुने कुनै पनि नियन्त्रण वा बन्देजमुखी प्रहारले हामी नागरिककै मौलिक हक कुण्ठित गरिरहेका हुन्छन्।

जुन सरकारको नियत सफा छ, जसलाई भ्रष्टाचार, स्वेच्छाचारिता वा मानव अधिकार उल्लंघनको गलत बाटो हिँड्नु छैन, उसले दण्डहीनता सिर्जनाका लागि यति धेरै बाहुबली प्रयास गर्दैन। त्यसैले सरकारका अहिलेका गतिविधिले उसको गैर–जिम्मेवार र निरंकुशतावादी चरित्र प्रस्ट पार्छन् । यससँगै नीतिगत भ्रष्टाचारमा पारंगत भइसकेको अहिलेको सरकार समाजलाई नीतिगत दण्डहीनताको डरलाग्दो खाडलमा धकेलने अभ्यासमा लागेको पुष्टि हुन्छ।

त्यसैले सरकारका यस्ता गैर–लोकतान्त्रिक तथा निरंकुशता–उन्मुख कदमहरुको विरोध गर्नु हरेक जिम्मेवार नागरिकको कर्तव्य हुन्छ। मिडियाको घाँटी थिच्ने नियतसहित आएको मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगको स्वायत्तता हरण गर्ने नियतसहित आयोगर्को ऐनमाथि आएको संशोधन प्रस्ताव, विश्वविद्यालयको स्वायत्तता फितलो बनाएर दलीय चलखेल बढाउने संशोधन प्रस्तावलगायत दण्डहीनता र निरंकुशता–उन्मुख सबै कानुनी प्रावधान तत्काल रोक्न हामी सत्तारूढ लगायत सबै राजनीतिक दलहरुको ध्यानाकर्षण गराउँछौं।

साथै संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि तत्काल द्वन्द्वपीडित तथा मानव अधिकारवादीहरुले माग गरेबमोजिम सम्बन्धित ऐनमा संशोधन गरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा दलीय भागवन्डाका आधारमा नभई पीडितको विश्वास जित्न सक्ने विज्ञको नियुक्ति गर्न हामीले बारम्बार राख्दै आएको माग दोहोर्‍याउन चाहन्छौं।

त्यसै गरी, माफियामुखी प्रावधानसहित जबर्जस्ती संसदबाट पारित गरिएको चिकित्सा शिक्षा ऐनलाई हामीसँग भएको सम्झौता बमोजिम संशोधन गर्न पनि माग गर्दर्छौं।

हामी नागरिक लगायत सम्बन्धित सबै सरोकारवालाले उठाएका नागरिक अधिकार र सुशासनसम्बन्धी मागहरु सम्बोधन भएन र सरकारले बाहुबलका भरमा सबैलाई पेलेर स्वेच्छाचारी तवरले कानुन निर्माण जारी राखेको खण्डमा हामी जस्तो सुकै विरोधका कार्यक्रमसहित प्रदर्शनमा उत्रने जानकारी पनि गराउन चाहन्छौं। स्मरण रहोस अहिलेको सरकारको बाहुबली शासनको पहिलो कडीका रूपमा आएको माइतीघर मण्डलालगायत सार्वजनिक ठाउँ माथिको निषेधाज्ञा नागरिकहरुको अवज्ञाका सामुन्ने असफल भएको थियो।

अन्तमा, संविधान प्रदत्त नागरिक अधिकारहरुको रक्षार्थ समयमै सक्रिय हुन सबै आम नागरिकहरुलाई हार्दिक अपिल गर्दर्छौं। हामी सबैले के स्मरण गर्नु जरूरी छ भने नागरिकको निरन्तर निगरानी विना ठूलो बलिदानपछि प्राप्त भएका हाम्रा लोकतान्त्रिक अधिकारहरु सुरक्षित रहँदैनन्। राजनीतिमा जहिलेसम्म अहिलेको जस्तो भ्रष्टाचार, अपराधतन्त्र र स्वेच्छाचारिता हावी रहन्छ, तबसम्म हामी नागरिकहरु थप जागरूक भएर अभिव्यक्ति स्वतन्त्रतालगायत हाम्रा संविधानप्रदत्त अधिकारहरुको रखवारी गर्नुको विकल्प छैन।