६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसेवाको विज्ञापनबारे प्रधानमन्त्री स्वदेश फर्किएपछि निर्णय लिन्छौँ : दाहाल



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको विज्ञापनबारे प्रधानमन्त्री स्वदेश फर्किएपछि निर्णय लिइने बताएका छन् । उनले सरकारले विधेयकहरु ल्याउँदा तयारी राम्रो नपुगेको स्वीकार गरेसँगै उक्त कुरा बताएका हुन् ।

चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले समितिको निर्देशनलाई अध्ययन गरेर सकारात्मक निष्कर्षमा पुग्ने बताए । उनले भने, ‘समितिले एक ढंगले निर्देशन गर्‍यो । सरकारले एक खालले आफ्नो भनाइ राखिराखेकै छ । प्रधानमन्त्रीजी आएपछि छलफल गरेर सकारात्मक निष्कर्षमा पुग्छौं ।’

मिडिया काउन्सिल विधेयक, गुठी विधेयक लगायतलाई आवश्यक परिमार्जन गरेर लैजाने भन्दै उनले भने, ‘जति गृहकार्य भएर आउनुपर्ने हो, त्यसमा केही कमी रहेको देखिन्छ । सरकार र पार्टी सतर्क भएको छ र आउने दिनेमा पर्याप्त गरेर गृहकार्य ल्याृउनेतिर जान्छ ।’

सोमबार बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन संविधानको मर्म र भावनाविपरीत रहेको भन्दै रद्द गर्न निर्देशन दिएको हो। सामान्य प्रशासन मन्त्रालयको समन्वयमा लोकसेवा आयोगले जेठ १५ गते ५१५ स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी मागेको थियो।

आयोगको विज्ञापन संविधानको धारा ४२ ले व्यवस्था गरेको समानुपातिक समावेशी सिद्धान्त र धारा २२१ मा भएको स्थानीय तहको व्यवस्थापकीय अधिकारविपरीत रहेको भन्दै समितिले रद्द गर्न निर्देशन दिएको हो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ८३ (१) मा गाउँपालिका तथा नगरपालिकामा आफ्नो कार्यबोझ, राजस्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकता र विशिष्टतालाई ध्यानमा राखी कर्मचारी समायोजन भएपछि मात्रै संगठन तथा सर्वेक्षणका आधारमा संगठन संरचना कायम गर्ने व्यवस्था छ। तर पनि आयोगले जारी गरेको विज्ञापन यसविपरीत रहेको समितिको ठहर छ।

समितिले स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी वास्तविक दरबन्दी यकिन भएपछि मात्रै कर्मचारी पदपूर्ति प्रक्रिया अघि बढाउन सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ। कर्मचारी अभाव भएमा पुल र फाजिलमा परेकालाई काममा लगाउन र स्थानीय तहको आवश्यकताअनुसार निश्चित मापदण्ड बनाएर करारमा कर्मचारी नियुक्त गर्न समितिको निर्देशन छ।

चौथो पटकमा मात्रै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित बैठकमा सहभागी भएपछि समिति निष्कर्षमा पुगेको हो। गत शुक्रबार समितिले यो निणर्यका लागि मस्यौदा तयार पारेको थियो।