३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुङ्गाको लडाइले चार महिनादेखि नेविसङ्घको तदर्थ समिति बन्न सकेन



अ+ अ-

काठमाडौं । नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्थाका रूपमा रहेको नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को चार महिनादेखि तदर्थ समिति बन्न सकेको छैन । एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले २०७५ माघ २८ मा राजीनामा दिएसँगै चार महिनादेखि नेतृत्वविहीन रहेको नेविसङ्घको अहिलेसम्म तदर्थ समिति बन्न सकेको छैन ।

नेविसङ्घको विस २०७३ साउनमा सम्पन्न ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष महरले १२ औँ महाधिवेशन गर्न नसेकेपछि माघमा राजीनामा दिनुभएको थियो । मुलुकमा भएका विभिन्न राजनीतिक र शैक्षिक आन्दोलनमा अग्र मोर्चामा उभिएर काम गरेको नेविसङ्घको नेतृत्व नहुँदा पार्टीलाई समेत ठूलो समस्या उत्पन्न भएको छ ।

विसं २०२७ वैशाख ७ गते पार्टी प्रतिब्न्धित अवस्थामा रहेको बेला स्थापना भएको नेविसङ्घमा अहिलेको अवस्थासम्म आइपुग्दा १८ जनाले नेतृत्व सम्हाल्ने मौका प्राप्त गर्नुभयो । नेविसङ्घको पहिलो अध्यक्ष विपिन कोइराला हुनुहुन्छ । स्थापनाकालदेखि हालसम्म आइपुग्दा छ अध्यक्ष निर्वाचित, सात अध्यक्ष तदर्थ र पाँच अध्यक्षले सर्वसम्मत नेतृत्व गर्नुभएको छ ।

नेविसङ्घका पूर्व केन्द्रीय सदस्य लीलावल्लभ दाहाल ‘काका’ पार्टी नेतृत्वले नै पार्टीको महाधिवेशनसम्म नेविसङ्घको महाधिवेशन गर्न नचाहेको बताउहुन्छ । “पार्टीले विद्यार्थी हक र हितमा खट्ने इमान्दार विद्यार्थीलाई समावेश गरेर तत्काल तदर्थ समिति गठन गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ । पार्टीका नेताको गैरजिम्मेवारीपनका कारण तदर्थ समिति गठन हुन नसकेको उहाँको भनाइ छ ।

नेविसङ्घका निवर्तमान उपाध्यक्ष उर्मिला थपलिया पार्टीले तत्काल महिलाको नेतृत्वमा तदर्थ समिति बनाएर महाधिवेशनमा जानुपर्ने बताउनुहुन्छ । “नेविसङ्घमा अहिलेसम्म धेरै पुरुष नेतृत्वमा पुगेका छन्, अहिले महिलालाई तदर्थ समितिको अध्यक्ष बनाएर महाधिवेशनमा जाँदा पार्टीलाई अरु राजनीतिक दल र काङ्ग्रेसले हेर्ने नजरमा पनि फरक पर्छ”, उहाँ भन्नुहुन्छ ।

नेविसङ्घका निवर्तमान सहमहामन्त्री प्रेमराज जोशी पार्टीले ३२ वर्ष कम उमेरका विद्यार्थीलाई अध्यक्ष बनाएर तत्काल तदर्थ समिति गठन गर्नुपर्ने बताउनुहुन्छ । “विधानमा उल्लेख भएअनुसार तत्काल १०१ सदस्यीय समिति बनाएर केन्द्रीय महाधिवेशनमा नेविसङ्घ जानुपर्छ”, उहाँ भन्नुहुन्छ ।

नेविसङ्घका पूर्व अध्यक्ष रञ्जित कर्ण पार्टीले तत्काल तदर्थ समिति बनाएर छ महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने बताउनुहुन्छ । “वडा तह, स्थानीय तह, जिल्ला तह, प्रदेश तह र केन्द्रको निर्वाचनको कार्यतालिका र कार्ययोजना बनाएर नेविसङ्घको महाधिवेशन तत्काल गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ ।

नेविसङ्घका पूर्व अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेल लोकतन्त्र र शिक्षाका लागि लडेको विद्यार्थी यो अवस्थामा आइपुग्नु दुःखद भएको बताउनुहुन्छ । “नेविसङ्घलाई अनावश्यक हस्तक्षेप गरेर पार्टी सङ्गठन बलियो हुन सक्दैन, त्यही समितिलाई अहिलेसम्म काम गर्न दिएको भए धेरै जिल्लाको अधिवेशन गर्न सक्थ्यो”, उहाँ भन्नुहुन्छ । तत्काल नेविसङ्घको महाधिवेशन गर्नका लागि विभिन्न क्षेत्रका व्यक्तिको सहभागितामा निर्वाचन समिति बनाएर अगाडि जानुपर्ने उहाँको भनाइ थियो ।

नेविसङ्घको ४८ वर्षको इतिहासमा विसं २०५९ सालमा तत्कालिन नेविसङ्घका अध्यक्ष विश्वप्रकाश शर्माले समयमा महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो भने अरु अध्यक्षहरुले समयमा अधिवेशन गर्न सक्नुभएन ।

विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जित कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नुभएको थियो । यस्तै, विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महर भने निर्वाचनबाट जितेर अध्यक्ष बनेपनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न सक्नुभएन ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा नेविसङ्घभित्र तदर्थ समिति बनाउने कुरामा पार्टीभित्र विभिन्न चरणमा छलफल भइरहेको बताउँदै चाँडो नै टुङ्गो लाग्ने बताउनुहुन्छ । “विधान र प्रक्रियाअनुसार नै नेविसङ्घको तदर्थ समिति बन्छ”, उहाँ भन्नुहुन्छ । नेविसङ्घको समिति नहुँदा पार्टीले भर्खरै सम्पन्न गरेको पहिलो चरणको हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानमा समेत समस्या परेको छ ।