२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनले बढ्यो भृकुटीमण्डपको व्यापार



file photo
अ+ अ-

काठमाडौँ । भृकुटीमण्डपमा झण्डै एक दशकदेखि खाजा पसल चलाउँदै आउनुभएकी सीता थापालाई केही दिनयता भ्याइनभ्याइ छ । आजदेखि सुरुआत भएको कांग्रेस महाधिवेशनका कारण बिहानैदेखि नै पसल भीडभाड छ । 

सो स्थानमा अन्य समयमा बिहान र साँझ व्यापार हुने भए पनि दिउँसो सुनसान हुने गरेको उहाँले बताउनुभयो । उहाँले दैनिक रु १० देखि १५ हजारसम्मको व्यापार गर्दै आउनुभएकामा अहिले झण्डै रु ६० हजारसम्मको व्यापार भइरहेको छ । अरु समयमा लगानीबाट भाडा तिर्न र खान बस्न मात्रै पैसा हुने भए पनि मण्डपमा हुने कार्यक्रमले व्यापार बढेको उहाँले जानकारी दिनुभयो । कोभिडका कारणले यहाँ हुने कार्यक्रम घटेको भए पनि अहिले भइरहँदा उहाँ खुसी हुनुहुन्छ । उहाँले भन्नुभयो, “हामीलाई त हप्तैपिच्छे केही न केही भयो भने आम्दानी बढ्छ ।”

महाधिवेशन आइतबारसम्म जारी रहने छ । महाधिवेशनको उद्घाटन सुरु हुनुभन्दा एक साता पहिलेबाट नै महाधिवेशनस्थलमा भने भीडभाड बढ्न थालेको थियो । जिल्लाजिल्लाबाट आएका त कतिपय काठमाडौँमा नै भएका प्रतिनिधि र शुभेच्छुक आपसमा भेटघाटका लागि आइरहेका थिए । हिजोअस्तिभन्दा आज बिहानैदेखि भीडभाड बढेको देखिन्छ । 

सो स्थानमा नै खाजा पसल चलाउँदै आउनुभएका मातृकाप्रसाद राई महाधिवेशनले गर्दा आफ्नो व्यापार झण्डै चार गुणाले बढेको बताउनुभयो । एक साता पहिलेबाट नै यहाँ आवतजावत बढ्न थाले पनि बुधबारबाट बाक्लो भएको उहाँले बताउनुभयो । बिहीबार भीडभाड बढेको थियो । आज त उहाँलाई बिहानैदेखि भ्याइनभ्याइ भएको देख्न सकिन्थ्यो । राजनीतिक आस्थाभन्दा पनि व्यापार बढ्ने हुँदा उहाँलाई महाधिवेशन औधी रमाइलो लागेको छ । उहाँले भन्नुभयो, “यस्तो चुनाव त हाम्रो लागि दसैँ नै हो ।”

महाधिवेशन, आमसभालगायतका कार्यक्रम हुँदा र व्यापार र अरु मेला पर्व हुँदा यहाँको व्यापार बढ्ने गरेको छ । गत साता भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन हुँदा चार दिनमा राम्रो व्यापार भएको उहाँले बताउनुभयो । अरु समयमा दैनिक झण्डै रु १० हजारदेखि १५ सम्मको व्यापार गर्ने भए पनि अहिले रु ६५ हजारसम्मको व्यापार भइरहेको उहाँले बताउनुभयो । खानाभन्दा खाजा खान आउनेको सङ्ख्या धेरै छ । उहाँले भन्नुभयो, “सबैभन्दा बढी चिया त्यसपछि चना, अण्डा, चाउमिन खान आउने छन् ।” 

सो स्थानमा नै बसेर व्यापार गर्ने मात्रै होइन महाधिवेशनका कारण डालोमा वा साइकलमा व्यापार गर्ने पनि राम्रो व्यापार गरिरहेको देख्न सकिन्छ । केही वर्षदेखि नियमितरुपमा नयाँ बसपार्कमा बदाम बेच्ने गरे पनि महाधिवेशनका कारण महाधिवेशनस्थल नजिक आइपुगेको सुरेश लामाले बताउनुभयो । प्रदर्शनी मार्ग नजिकै भेटिनुभएका उहाँ चुनाब नसकिएसम्म नियमित आउने बताउनुभयो । उहाँले भन्नुभयो, “यस्तै कार्यक्रममा हामीले अरु बेलाभन्दा दोब्बर आम्दानी गर्न सक्छौँ ।” (रासस)