१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसमा आज मनोनयन दर्ता, मतदान भोली



अ+ अ-

काठमाडौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ ।

मनोनयन दर्ता गर्न सभापतिका लागि रु ३० हजार, उपसभापति र महामन्त्रीका लागि रु २५ हजार, सहमहामन्त्रीका लागि रु २० हजार र केन्द्रीय सदस्यको १० हजार दस्तुर निर्धारण गरिएको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो । मनोनयनका लागि लाग्ने रकम महाधिवेशन स्थल भृकुटीमण्डपमा नै प्रभु बैंक अस्थायी रुपमा स्थापना गरेर समितिको खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।  

उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते विहान ८ बजेदेखि हुनेछ ।

पार्टीको संस्थापन समूह र संस्थापन इतर समूहले प्यानलगत रुपमा उम्मेदवारी दिने बताइएको भए पनि अहिलेसम्म प्यानल घोषणा गरिएको छैन् । हालसम्म केन्द्रीय सभापतिमा प्रधानमन्त्री एवं वतर्मान पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महमन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा शेखर कोइराला मुख्य आकांक्षी देखिनुभएको छ । अन्य पदाधिकारी तथा सदस्यमा भने नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।    

मतदान भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा हुने जनाइएको छ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको संख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने बारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ । 

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ । पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ ।  

यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधीको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो । यस अघि शुक्रबार भृकुटीमण्डपमा भव्य समारोहका बीच महाधिवेशनको उद्घाटन भएको थियो । उद्घाटन सम्पन्न भएपछि शुक्रबार नै राति ९ बजे भएको बन्द सत्रमा महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेश गरिएको थियो । 

यस्तो छ कांग्रेस महाधिवेशनको इतिहास

कांग्रेसको प्रथम महाधिवेशन कोलकाताको भवानीपुरमा विसं २००३ माघ १२ र १३ गतेमा भएको थियो । महाधिवेशनमा टङ्कप्रसाद आचार्य सभापति र बिपी कोइराला कार्यवाहक सभापति हुनुभएको थियो । कांग्रेसको दोस्रो महाधिवेशन बनारसमा विसं २००४ माघ २० र २१ गते भएको थियो भने बिपी कोइराला सभापति निर्वाचित हुनुभएको थियो ।

यसैगरी तेस्रो महाधिवेशन भारतकै दरभङ्गामा विसं २००५ फागुन १८ देखि २० गतेसम्म भई मातृकाप्रसाद कोइराला सभापति हुनुभएको थियो । भारतकै कोलकातामा विसं २००६ चैत २६ र २७ गते भएको चौथो महाधिवेशनमा सभापतिमा मातृकाप्रसाद कोइराला पुनः सभापति बन्नुभएको थियो ।

कांग्रेसको पाँचौँ महाधिवेशन जनकपुरमा भएपछि बिपी कोइराला पुनः सभापतिमा निर्वाचित हुनुभएको कांग्रेसको इतिहास छ । वीरगञ्जमा विसं २०१२ माघ ९ देखि १३ गतेसम्म भएको छैटाँै महाधिवेशनमा सुवणर्शम्शेर राणा सभापति हुनुभएको थियो भने सोही अवधिमा विसं २०१४ जेठ १० देखि ११ गते विराटनगरमा भएको विशेष महाधिवेशनमा बिपी कोइराला सभापति हुनुभएको थियो ।

विसं २०१७ वैशाख २५ देखि ३१ गतेसम्म काठमाडौँमा भएको सातौँ महाधिवेशनमा बिपी कोइराला नै सभापतिमा निर्वाचित हुनुभएको थियो । विसं २०४८ फागुन १ देखि ३ गतेसम्म झापामा भएको आठौँ महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापतिमा निर्वाचित हुनुभएको थियो । यसैगरी विसं २०५३ वैशाख २६ देखि ३० गतेसम्म काठमाडौँमा भएको नवौँ महाधिवेशन, विसं २०५७ माघ ६ देखि १० गतेसम्म पोखरामा भएको १०औँ महाधिवेशन र काठमाडौँमै विसं २०६२ भदौ १ देखि ४ गतेसम्म भएको ११औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला लगातार तीनपटक सभापति हुनुभएको थियो ।

कांग्रेसको विसं २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौँमा भएको १२औँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा निर्वाचित हुनुभएको थियो भने वर्तमान पार्टी सभापति देउवा विसं २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौँमै भएको १३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको हो ।रासस