१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा प्रभावकारी बन्दै ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’



अ+ अ-

भद्रपुर । नेपालमा पहिलोपल्ट बेरोजगारहरुलाई ‘कामका लागि पारिश्रमिक’ दिने गरी शुरु गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ झापामा प्रभावकारी देखिएको छ । पहेँलो हेल्मेट र ज्याकेट लगाएका युवाहरु औजार बोकेर निर्माणका काममा खटिँदा गाउँगाउँमा विकासको जागरण फैलिएको छ ।

झापामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारप्राप्त जनशक्तिलाई विद्यालयको रङरोगन, धार्मिक पर्यटकीयस्थलको सरसफाइलगायतका काममा परिचालन गरिएको छ । जिल्लाका १५ स्थानीय तहमध्ये आठ नगरपालिका र छ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत यस वर्ष दुई हजार ७५३ ले रोजगारी प्राप्त गरेका छन् । गौरीगञ्ज गाउँपालिकाले भने तथ्याङ्क सङ्कलन कार्य भइरहेको जनाएको छ ।

झापाका आठ नगरपालिकामध्ये सबैभन्दा सानो कनकाईले सबैभन्दा धेरै ९४६ लाई रोजगारी प्रदान गरेको छ । रोजगारीका लागि आवश्यक मापदण्ड पूरा गरी निवेदन दिन आएका कसैलाई पनि रोजगारी पाउने हकबाट वञ्चित नगरिएको नगरका प्रमुख राजेन्द्रकुमार पोखरेल बताउनुहुन्छ । कनकाई नगरपालिकाले कोटीहोम, धनुषकोटीधामलगायतका धार्मिक पर्यटकीयस्थलमा सरसफाइ, टहरा निर्माण, वृक्षरोपणलगायतका काममा उनीहरुलाई परिचालन गरिएको नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो ।

झापाको सात गाउँपालिकामध्ये बुद्धशान्तिले सबैभन्दा बढी १४० लाई रोजगारी प्रदान गरेको छ । बुद्धशान्ति गाउँपालिकाले सरकारले तोकिएको दैनिक ज्याला रु ५१७ मा गाउँपालिकाका तर्फबाट रु ५० थपेर ज्याला प्रदान गरेको अध्यक्ष रमेश भुजेल बताउनुहुन्छ ।

हल्दिबारी गाउँपालिकाले ६२ लाई रोजगारी प्रदान गरेर विद्यालयको रङरोगन कार्यमा खटाएको छ । गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले स्थानीय १७ सामुदायिक विद्यालयमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रङरोगनकार्य धमाधम भइरहेको जानकारी दिनुभयो । रङरोगन सकेपछि उनीहरुलाई हुलाकी राजमार्गको दुवै किनारमा वृक्षरोपण गर्न लगाउने योजना रहेको उहाँले बताउनुभयो ।

कमल गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी पाएकालाई नदी कटान रोक्ने बाँध निर्माणमा खटाएको छ । गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले उनीहरुलाई गाउँपालिका कार्यालयको पर्खाल र रिङरोडलगायतका सार्थक निर्माण काममा लगाइएको बताउनुभयो । झापाका नगरपालिकामा, कनकाईमा ९४६, मेचीनगरमा २५२, अर्जुनधारामा २७०, भद्रपुरमा १४९, विर्तामोडमा १८९, शिवसताक्षीमा १४४, गौरादहमा १२५ र दमक नगरपालिकामा १७६ ले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी पाएका छन् । गाउँपालिकामा बुद्धशान्तिमा १४०, बाह्रदशीमा ७२, कमलमा ८३, कचनकवलमा ८३, हल्दिबारीमा ६२ र झापामा ६२ ले रोजगारी पाएका छन् ।

राज्यको ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्यलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले निकै ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दैै अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाले रोजगारी पाउनेमा आधाभन्दा बढी महिला भएको बताउनुभयो । आर्थिक वर्षको अन्त्यतिर मात्र कार्यक्रम लागू भएता पनि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी पाउँदा बेरोजगारहरु उत्साहित भएको मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य टीकाराम मग्राती बताउनुहन्छ । पहेँलो हेल्मेट र ज्याकेट लगाएर तातोघाम र झरी नभनी काममा खटिएका पुरुष तथा महिला कामदारलाई सर्वसाधारणले समेत गाउँगाउँमा स्वागत र सम्मान गर्न थालेका छन् ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सबै स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरेको छ भने कतै रोजगारी नपाएकाहरुले वडा कार्यालयमार्फत आ–आफ्नो नगर तथा गाउँपालिकामा बेरोजगारको सूचीमा नाम दर्ता गराएका छन् ।

बेरोजगारहरुले निवेदन दर्ता गर्दा नै काम रोज्न पाउने व्यवस्था मिलाइएको कनकाई नगरपालिकाका रोजगार संयोजक सरोज मैनाली बताउनुहुन्छ । निरक्षरदेखि स्नातकोत्तर तह उत्तीर्ण गरेका व्यक्तिहरुसमेत प्रधानमन्त्री रोजगार कार्यक्रममा काम पाउनका लागि निवेदन दिन आउनुभएको उहाँ बताउनुहुन्छ ।

रोजगार पाउनेहरुले दैनिक रु ५१७ ज्याला पाउने सरकारी व्यवस्था रहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएपछि गाउँ तथा नगरका भित्री कच्ची सडक र पर्यटकीय तथा सार्वजनिकस्थलमा रहेको झाडी–फोहर सरसफाइ भएकाले चिटिक्क देखिन थालेका छन् ।