२४ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताका सांसद अदालतले कैदी बनायो, सरकारले लगायो साङ्लो



अ+ अ-

काठमाडौं । अस्पताल भर्ना गरेपछि सामान्यतया कुनै पनि कैदीबन्दीलाई नेल–हत्कडी लगाइँदैन । तर, फोक्सो र बोनम्यारोमा समस्या देखिएर थलिएका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गर्दा भने प्रहरीले खुट्टामा फलामे साङ्लो लगायो ।

कारागार व्यवस्थापन नियमावलीविपरीत नेल लगाइएपछि प्रधानमन्त्री केपी ओलीले नेल खोल्न र संलग्न कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिए । यसलगत्तै कर्मचारी तथा प्रहरीमाथि कारबाही प्रक्रिया पनि सुरु भएको छ ।

टीकापुर हत्या प्रकरणमा अदालतबाट दोषी ठहर भई जन्मकैद सजाय पाएका चौधरीलाई बिहीबार वीर अस्पतालमा भर्ना गरिएको थियो । बेडमा रहँदासमेत उनलाई नेल लगाइएको थियो । चौधरीको नेलसहितको तस्बिर बाहिरिएपछि यसबारे चर्चा सुरु भएको थियो । यो चरम अमानवीय व्यवहार भएको भन्दै जेल र प्रहरी प्रशासनको आलोचना भएको थियो । प्रहरी अधिकारीहरूले भने चौधरी भाग्न सक्ने कारण देखाएर नेल लगाइएको बताएका छन् ।

जेलरको आदेशमा चौधरीलाई लगाइयो नेल

चौधरीलाई जेलरको आदेशमा नेल लगाइएको प्रहरी अधिकारीहरूले बताएका छन् । डिल्लीबजार कारागारमा जेलर अर्जुन पोखरेल कार्यरत छन् । स्रोतका अनुसार चौधरी भाग्न सक्ने भन्दै जेल प्रशासनले नै उनलाई अस्पतालमा समेत नेल लगाउने निर्णय गरेको थियो । तर, यो विषय प्रहरीको अधिकार क्षेत्रमा पर्ने भन्दै पोखरेल पन्छिए । प्रहरीले नै सुरक्षा अवस्था हेरेर नेल वा हत्कडी लगाउनेबारे निर्णय गर्ने उनले बताए ।

के छ नियमावलीमा ? प्रहरीको जागिर जोगाउन नेल हत्कडी

कारागार नियमावली, २०२० को दफा ७ मा जेलबाट भागेको, भाग्ने प्रयास गरेको वा कारागारसम्बन्धी अपराध गरेको कैदीबाहेक अन्यलाई नेल हत्कडी नलगाइने उल्लेख छ । बाटोमा हुँदा हत्कडी लगाउनैपर्ने प्रावधान छ । तर, अस्पतालमा हुँदा मानवअधिकारको दृष्टिकोणले पनि हत्कडी लगाउन मिल्दैन । तर, सुरक्षामा पाँच प्रहरी खटिए पनि चौधरीलाई नियमावलीविपरीत नेल लगाइएको थियो ।

स्रोतका अनुसार पछिल्लो समय अस्पतालबाट कैदी भाग्ने क्रम बढेपछि सामान्य कैदीबन्दीलाई समेत नेल लगाउन थालिएको छ । प्रहरीले ड्युटीमा ख्याल नगर्दा कैदी भाग्ने गर्छन् । यस्तोमा प्रहरी अधिकारीको जागिर नै जान्छ । सुरक्षामा खटिएका प्रहरीहरूले ड्युटीमा ध्यान नदिएकै कारण धेरैपटक कैदी भागेपछि उनीहरूलाई जागिरबाट हटाइएका घटना छन् । प्रहरीले आफ्नो जागिर जोगाउनकै लागि यसरी अनावश्यक रूपमा मानवअधिकार हनन गर्ने गरेका छन् ।

जेलर र प्रहरीमाथि कारबाही सुरु

गृह मन्त्रालयले डिल्लीबाजर कारागारका जेलर अर्जुन पोखरेललाई स्पष्टीकरण सोधेर कारबाही गर्ने तयारी गरेको छ । त्यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पनि छानबिन थालिसकेको छ । दोषी प्रहरीमाथि कारबाही हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी शैलेश थापा क्षत्रीले बताए । डिल्लीबजार कारागारमा इन्स्पेक्टर पुरुषोत्तम थपलियाको नेतृत्वमा प्रहरी खटिएको छ ।

छानबिन थालेका छौँ : डिआइजी शैलेश थापा, महानगरीय प्रहरी कार्यालय

उनलाई अस्पतालमा रहँदा नेल र हत्कडी लगाइएको कुरा आएपछि हामीले आन्तरिक छानबिन थालेका छौँ । कारागार प्रशासनले अस्पताल लैजाँदा कैदीहरूलाई हत्कडी लगाउन सक्ने प्रावधान छ । दोषी प्रहरीलाई कसुरको आधारमा कारबाही हुनेछ ।

यो प्रहरीले हेर्ने विषय हो : अर्जुन पोखरेल, जेलर, डिल्लीबजार कारागार

अस्पताल लैजाँदा कसरी कैदीबन्दीको सुरक्षा गर्ने भन्ने विषय प्रहरीले हेर्ने गर्छ । हामीले त उनीहरू भाग्न नसक्ने गरी सुरक्षा व्यवस्था मिलाउनु मात्र भन्ने गर्दछौँ ।

रेशम चौधरीलाई अस्पताल लैजाँदा पनि हत्कडी र नेल लगाइएको रहेछ । त्यो केही समय मात्र लगाइएको हो भन्ने लाग्छ । अहिले लगाइएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।