२४ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिकारुले ट्याक्टर चलाउँदा दुर्घटना, तीनको घटनास्थलमै मृत्यु



अ+ अ-

अछाम । जिल्लाको चौरपाटी गाउँपालिका–३ स्थित दसपल्ले माविमा बिहानी कक्षा सञ्चालन हुने गर्छ। त्यहाँ पढ्ने धेरै विद्यार्थी बिहानै उठेर हतारहतार विद्यालय कुद्नुपर्ने अवस्था छ। बाटोमा ट्याक्टर भेटियो भने विद्यार्थीहरू राहत महसुस गर्छन् र त्यसैमा अटाईनअटाई चढेर विद्यालय जाने गर्दछन्। बुधबार बिहान गाउँदेखि विद्यालय पुग्न करिब आधा घन्टा पैदल हिँड्नुपर्ने विद्यार्थीहरूले ट्याक्टर भेट्टाए।

सबैजना अटाउन भन्दै केही विद्यार्थी ट्रयाक्टरको अगाडि भागमा त केही टेलरमा चढे। पुरै कच्ची बाटो त्यसमाथि ओरालो, गुडिरहेको ट्याक्टर एक्कासि अनियन्त्रित हुँदा दुर्घटना हुन पुग्यो। चौरपाटी–३ सोकटको कोलगैरामा भएको ट्याक्टर दुर्घटनामा तीन विद्यार्थीको घटनास्थलमै मृत्यु भयो। से१त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चारजना गम्भीर घाइते भए।

मृतक र घाइते सबैजसो दसपल्ले माविमा अध्ययनरत विद्यार्थी भएको बताइएको छ। मृत्यु हुनेमा दसपल्ले माविबाट भर्खरै एसइई दिई नतिजा पर्खिरहेका रमेश साउद, सोही माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको शिक्षक लोकबहादुर बोगटीले बताए। ट्याक्टर चालकले भने हामफालेर ज्यान जोगाउन सफल भएका ट्याक्टरमा सवारहरूको भनाइ छ।

चार घाइतेमध्ये तीनजनाको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ भने एक जनालाई धनगढी रेफर गरिएको छ। दुर्घटनाका घाइते उत्तम साउदका अनुसार मृतक दाइ रमेश र बहिनी कालीसँगै घरबाटै ट्याक्टर चढेको बताउँछन्। ‘हामी पढ्न जाँदै थियौं, एसइईको रिजल्ट आउने भन्ने खबर पाएपछि दाइ पनि हामीसँगै आउनुभएको थियो,’ उत्तमले भने, ‘बाटोमा ट्याक्टर गुरुसँग मलाई चलाउन दिनुस् भनें, उहाँले पनि दिनुभयो।’ उनका अनुसार ट्याक्टर ओरालोमा रहेका बेला चालकको निर्देशनअनुसार गियर बदल्ने क्रममा न्युट्रलमा रहँदा नियन्त्रण गुमेपछि बाटोमुनि पल्टिएको हो। ‘आफ्नै गाडी भएकाले कहिलेकाहीं चलाउन सिक्ने गरेको थिएँ,’ उनले भने, ‘तर आज ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना हुन पुग्यो।’

‘छोराको प्राविधिक इन्जिनियर बन्ने ठूलो धोको थियो। त्यसका लागि ब्रिजकोर्स पनि गरिरहेको थियो,’ गाडीधनी देवहादुर साउदले भने, ‘ठूलो छोरा र छोरी गुमाउनुप¥यो, कान्छो छोरो पनि घाइते छ।’ सोही दुर्घटनामा घाइते भएकी शारदा साउदले ट्याक्टरको अगाडिको भागमा बसेकाहरू मृत्यु र घाइते भएको बताइन्। ‘ड्राइभरसहित उनीहरू आउँदै थिए, बाटामा हामीलाई देखेपछि सँगै जाऔं भने, हामी पनि चढ्यौं,’ उनले भनिन्, ‘गाडी ओरालोमा थियो, खै कसरी दुर्घटना भयो, पत्तै भएन।’ तीनजना मृतक र चारजना घाइतेलगायत ड्राइभर ट्याक्टरको अघिल्लो भागमा थिए। ‘ट्याक्टरको टेलरमा पनि आठ÷नौ जनाजति थिए। उनीहरूलाई भने केही भएन,’ उनले भनिन्, ‘काली त बाँच्थी कि जस्तो लागेको थियो। च्यापिएकाले चिच्याउँदै थिई तर निकाल्न सकिएन।’ आफूहरूलाई पनि च्यापिएको अवस्थामा ड्राइभरले निकालेको उनले बताइन्।

बिहान ६ बजेर ४५ माभएको सो घटनाको जाँचबुझका लागि प्रहरी चौकी सिउडीबाट प्रहरी घटनास्थल पुगेको थियो। पछि जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कलेन्द्र शाही नेतृत्वको टोलीसमेत घटनास्थलमा पुगेको थियो। दुर्घटनामा घाइते मृत्यु भएका तीनैजनाको शव जिल्ला अस्पताल अछाममा पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरी निरीक्षक शाहीले जानकारी दिएको नागरिक दैनिकमा खबर प्रकाशित छ ।