लन्डन । बेलायतमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताबाट वेस्ट इन्डिज बाहिरिएको छ । भारतसँग म्यान्चेस्टरमा बिहीबार भएको खेलमा वेस्ट इन्डिज १२५ रनले पराजित भएसँगै वेस्ट इन्डिजको सेमिफाइनल यात्रामा पूर्ण विराम लागेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा सात विकेट गुमाएर २६८ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले ७२, महेन्द्रसिंह धोनीले ५६, हार्दिक पान्ड्याले ४६ र केएल राहुलले ४८ रन बनाएका थिए ।
तर २६९ रनको मध्यम स्कोर पछ्याएको वेस्ट इन्डिजको शुरुआत नै खराब रहेको थियो । बोर्डमा १६ रन हुँदै वेस्ट इन्डिजले २ विकेट गुमाइसकेको थियो । वेस्ट इन्डिजका खतरनाक ब्याट्सम्यान क्रिस गेल ६ रनमै आउट भएका थिए भने अर्का प्रारम्भिक ब्याट्सम्यान साइ होप पनि ५ रनमै पभेलियन फर्केका थिए ।
ब्याटिङमा धरासायी भएको वेस्ट इन्डिजको पूरै टिम ३४.२ ओभारमा समाप्त भएको थियो । वेस्ट इन्डिजले केबल १४३ रन मात्र बनाउन सक्यो ।
यो जितसँगै भारतको सेमिफाइनल लगभग पक्का भएको छ । पछिल्लो अंक तालिका निम्न अनुसार छः
१. अस्ट्रेलिया (७ खेल १२ अंक)
२. भारत (६ खेल ११ अंक)
३. न्यूजील्यान्ड (७ खेल ११ अंक)
४. इङल्यान्ड (७ खेल ८ अंक)
५. बंगलादेश (७ खेल ७ अंक)
६. पाकिस्तान (७ खेल ७ अंक)
७. श्रीलंका (६ खेल ६ अंक)
८. वेस्ट इन्डिज (७ खेल ३ अंक)
९. दक्षिण अफ्रिका (७ खेल ३ अंक)
१०. अफगानिस्तान (७ खेल ० अंक)
शुक्रबारको खेल
दक्षिण अफ्रिका विरुद्ध श्रीलंका