काठमाडौं । आफूलाई ‘धर्ती माता’ दावी गर्दै आएकी विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । उनले नेपाली सेनाको मुख्यालय नजिकै भद्रकाली मन्दिरमा आफूलाई ‘धर्ती माता’ बताएर युवतीलाई यातना दिएकी थिइन् ।
कुँवरलाई काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो । बुटवल बस्ने कुँवरले आफूमा तन्त्रमन्त्रको ज्ञान भएको दाबी गर्दै एक साताअघि उनले सर्वसाधारणको भिडका बीच युवतीलाई यातना दिएकी थिइन् ।
युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।घटनालाई लिएर सर्वसाधारणले प्रहरी प्रशासनको आलोचना गरेपछि अनुसन्धान सुरु भएको थियो ।
प्रहरीले हालसम्म पीडितलाई भने भेटेको छैन । यद्यपि, पीडितलाई उजुरी दिन आग्रह गरिएको छ ।