• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

जग्गा छ तर पुर्जा छैन



कैलाली । कैलाली टीकापुर नगरपालिका ८ र ९ का स्थानीयवासीले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा मर्कामा पर्ने गरेका छन् । एक हजार ८०० सँग रहेको तीन हजार बिघाभन्दा बढी जग्गाको लालपुर्जा नहुँदा उनीहरु मर्कामा परेका हुन् ।

टीकापुर–८ धनसिंहपुरका ४९ वर्षीय भीम महर जन्मेको तीन वर्षअघि देखि नै उनका बुबा गगनसिंह महरका नाममा कञ्चनपुर प्रधान वन कार्यालयले आँकडा फाराम दिएको थियो । आँकडा फाराममा तीन बिघा क्षेत्रफलमा ‘जङ्गल फाँडी आवादी गर्नु’ उल्लेख छ ।

सुदूरको पहाडी जिल्ला अछामबाट बसाई सरी कैलाली आएका हाल टीकापुर नगरपालिका–८ को श्रीलङ्का भनिने तोलीगाउँमा बस्ने सेतराज बुढाको परिवार २०२१ सालदेखि सोही ठाउँमा बस्दै आउनुभएको छ । उहाँको परिवारसँगै गाउँका अरु पनि तोलीगाउँको जङ्गल फाँडेर बसेका हुन् । उनीहरु जङ्गल फाँडेर खेत बनाए, घरबार जोडे । जङ्गल फाँडेर जोडेको पाँच बिघा जमीनमा अहिलेसम्म बुढाको परिवारले भोगचलन गर्दै आएको छ । उहाँसँग पनि जग्गाधनी पुर्जा छैन ।

धनसिंहपुरकै बञ्जरियाका अम्मरबहादुर साउँदका बाजेको १६ जना परिवारले २०२३ सालमै जङ्गल फँडानी गरेर जग्गा जोडे र त्यसको भोगचलन पनि अहिलेसम्म गर्दै आएका छन् । २०३६ सालमा आएको नापी टोलीले जग्गाधनी प्रमाण पुर्जासमेत दियो तर भोगचलन गर्दै आएको जग्गाको नक्सामा भने अहिले पनि जङ्गल छ अर्थात् साउँदसँग जग्गा छ, जग्गाधनी पुर्जा पनि छ तर नक्सामा भने जग्गा भेटिँदैन ।

यी त केही उदाहरणमात्र हुन्, टीकापुर नगरपालिका–८ साविक धनसिंहपुरको झण्डै ८० प्रतिशत जग्गाको समस्या करीब करीब उस्तै देखिएको छ । कसैसँग जग्गा छ, आँकडा फाराम छ तर पुर्जा छैन । भोगचलन गर्दै आएका ती जग्गाको कुनै कानूनी आधार नै छैन । कतिपयसँग जग्गा पनि छ, पुर्जा पनि छ तर नक्सामा जग्गा भेटिँदैन । वडा नं ८ का वडाध्यक्ष दीर्घ ठकुल्लाका अनुसार साविक धनसिंहपुर गाविसका अधिकांशको समस्या यस्तै छ ।

सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाबाट बसाइँ सरेर आएकाको घनाबस्ती रहेको साविक धनसिंहपुरका बासिन्दाले वर्षौंदेखि भोगचलन गर्दै आएको भए पनि जग्गाधनी पुर्जा भने पाउन सकेको छैनन् । विभिन्न समयमा आएका नापी टोलीले समेत त्यहाँको जग्गाको पुर्जा दिन सकेको छैन । “यो वडामा जग्गासम्बन्धी तीन किसिमका समस्या छन्, यहाँका झण्डै ८० प्रतिशत जग्गाको जग्गाधनी पुर्जा छैन”, अध्यक्ष ठकुल्लाले भन्नुभयो, “वडाको अर्नुवा, बञ्जरिया, वनगाउँ, फाँटा, चगुर्दी र तोलीगाउँको झण्डै तीन हजार बिघा जमीन भोगचलन हुँदै आए पनि उनीहरु लालपुर्जाविहीन छन् ।”

साविक धनसिंहपुर गाविसका प्राविधिक सहायक खगेन्द्रबहादुर साउँदका अनुसार सो वडाका झण्डै एक हजार ८०० व्यक्तिसँग जग्गा छ तर पुर्जा छैन । पटक पटक जग्गाको पुर्जाका लागि पहल भए पनि त्यहाँका बासिन्दाले भने अझै जग्गाधनी पुर्जा पाउन सकेका छैनन् ।

विसं २०२१ देखि बसोबासका रुपमा विकसित हुँदै आएको धनसिंहपुरमा पटक पटक नापी टोली आए, नापी टोलीले तीन पटकसम्म जग्गाको नाप लिएको छ । २०३६ सालमा आएको सर्वे टोलीले गाउँको अधिकांश भूभाग नापी गरे पनि जग्गाधनी पूर्जा भने दिन सकेन । २०४० सालको भदौ महीनामा कर्णाली नदीमा भीषण बाढी आयो । कयौँ व्यक्तिले ज्यान गुमाए । कयौँ परिवारको विचल्ली भयो । बाढी गाउँमै पसेपछि स्थानीयवासीको सयौँ बिघा जमीनमा अहिले पनि कर्णाली नदी बगिरहेको छ ।

तत्कालीन टीकापुर विकास समितिले बाढीबाट पीडितलाई घरबास दिन शुरु गर्यो । कतिपय टीकापुर सरे । कतिपय अन्तै बसाइँ सरे । उनीहरुले भोग चलन गर्दै आएको जग्गा खाली रह्यो । बाढीका कारणसमेत जग्गाधनी पुर्जा नपाएको स्थानीय बताउँछन् । “२०४० सालमा बाढी आयो, मान्छेहरु तितरबितर भए, बस्ती घट्यो, त्यसपछि यहाँको जग्गाको पुर्जा माग्ने पनि कम भए”, स्थानीय पदम साउँदले भन्नुभयो, “अहिलेसम्म हामीले पुर्जा पाउन सकेका छैनौँ ।”

साविक धनसिंहपुर गाविस पूर्वतर्फ बर्दियाको राजापुर र दक्षिणतर्फ भारतीय सीमासँग जोडिएको छ । जग्गाको लालपुर्जा नहुँदा यहाँका बासिन्दाले सीमा विवाद झेल्दै आएका छन् । “आफ्नो जमीनको पुर्जा छैन, दक्षिणतिरबाट भारतले सीमा मिच्दै आएको छ भने श्रीलङ्कामा बर्दियाको राजापुरसँग समेत हाम्रो सीमा विवाद हुँदै आएको छ”, शेरबहादुर बुढाले भन्नुभयो, “जग्गा धनी पुर्जा नहुँदा साँधसीमाबारे जहिल्यै झगडा हुने गरेको छ ।”

जग्गाको पुर्जा नहुँदा तीन पुस्तासम्म जग्गाको अंशबण्डा हुन नसकेको संयम बुढाले बताउनुभयो । “बाजेकै पालादेखि अंशबण्डा हुन सकेको छैन”, बुढाले भन्नुभयो, “अंशबण्डा नहुँदा पारिवारिक कलह हुने, जग्गा बिक्री गर्न नपाइनेजस्ता समस्या हामीले भोग्दै आएका छौँ ।”

किसानका लागि विभिन्न क्षेत्रबाट अनुदान आउने गरेको भए पनि जग्गाधनी पुर्जा नहुँदा आफूहरुले मल, बीउबिजनमा अनुदान नपाएको किसान छपिलाल चौधरीले बताउनुभयो । “वर्षौंदेखि हामी खेती किसानी गर्दै आएका छौँ, जग्गा छ तर पुर्जा नहुँदा हामीले अनुदान पाउन सकेका छैनौँ”, चौधरीले भन्नुभयो, “पुर्जा नहुँदा हाम्रा लागि अनुदान पनि पाइँदैन ।”

जग्गाको लालपुर्जा नहुँदा बैंकिङ कारोवार गर्न, अंशबण्डा गर्न र बेचबिखन गर्न समस्या हुन थालेपछि धनसिंहपुरवासीले वर्षौंदेखि पुर्जा लिन पहल गर्दै आएका छन् । स्थानीयवासीका अनुसार २०२३ सालदेखि नै जग्गाको पुर्जाका लागि उनीहरुले पहल गरेका छन् । शुरुमा जग्गाको आँकाडा फारामलाई पुर्जा ठानेका उनीहरुले २०३६ सालपछि जग्गाधनी पुर्जाका लागि विभिन्न निकायमा हारगुहार गर्न थाले ।

स्थानीयवासी लोक बुढाका अनुसार गाउँका बासिन्दासँग आर्थिक सहयोग उठाएर जग्गाधनी पुर्जाका लागि मन्त्रालयसम्म धेरै पटक डेलिगेशन गएका छौँ तर पनि पुर्जा पाउन सकिएको छैन् ।

टीकापुर नगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष ठकुल्लाले जग्गाधनी पुर्जाको लागि पहल गर्न कार्यपालिकाको बैठकबाट निर्णय भएर प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो । “हामीले कार्यपालिकाको बैठकबाटै जग्गाधनी पुर्जाका लागि पहल गर्ने निर्णय गरेर मन्त्रालयसम्म पु¥याएका छौँ, मन्त्रीलाई भेटेका छौँ, विभिन्न निकायमा माग गर्दै आएका छौँ”, ठकुल्लाले भन्नुभयो, “जग्गाधनी पुर्जा नहुँदा हामीले करसमेत सङ्कलन गर्न पाएका छैनौँ ।” कैलालीका अन्य ठाउँमा जङ्गल फाँडेर बसेकाले जग्गाधनी पुर्जा पाएको वर्षौं भइसक्दा पनि धनसिंहपुरवासीले भने अझै पुर्जा पाउन सकेका छैनन् ।