१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा ३३ वटा हेलिप्याड निर्माण



अ+ अ-

गलेश्वर । हिमाली जिल्ला म्याग्दीमा ३३ वटा हेलिप्याड निर्माण भएको छ । म्याग्दीका छ वटा स्थानीय तहका ४५ वडामध्ये ३३ वडामा हेलिप्याड निर्माण भएको हो । बाँकी १२ वटा वडामा पनि हेलिप्याड निर्माण गर्ने प्रक्रिया शुरु भएको छ ।

भौगोलिकरुपमा विकट, दुर्गम र सहज यातायात सुविधा नभएको बस्तीमा आपत्कालीन र विपद्को अवस्थामा उद्धार तथा राहत कार्यलाई व्यवस्थित बनाउने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समितिले गत मङ्सिरदेखि हेलिप्याड बनाउने योजना अघि सारेको हो । आठ महीनाको अवधिमा जिल्लाका ३३ वटा वडामा हेलिप्याड निर्माण गरिएको र आगामी दशैँसम्ममा सबै स्थानीय तहका सम्पूर्ण वडामा हेलिप्याड निर्माण भइसक्ने म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो ।

नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा स्थानीय तहले बजेट व्यवस्थापन गरेर हेलिप्याड बनाएका हुन् । सुरक्षा निकाय, वडाका जनप्रतिनिधि, युवाक्लब र आमासमूहको सहयोगमा हेलिप्याड बनाएका छन् ।

धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मराङ र ताकममा हेलिप्याड निर्माण गरिएको अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । हेलिप्याड निर्माणका लागि धवलागिरि गाउँपालिकाले रु सात लाख खर्च भएको जनाएको छ । हेलिप्याड बनाउन भिरालो जमीन सम्याइएको छ । त्यहाँसम्म पुग्ने बाटो बनाइएको छ । अन्नपूर्णको दोवा, भुरुङ–तातोपानी, दाना, नारच्याङ, शिख, घार, हिस्तानको घराम्दी र राम्चेमा स्वास्थ्य चौकी परिसरमा हेलिप्याड बनाइएको छ ।

भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रका बस्तीमा आकस्मिक बिरामी, दुर्घटना, पहिरो, बाढी, कटान, आगलागीको अवस्थामा तत्कालै पुगेर उद्धार तथा व्यवस्थापन सहज बनाउन हेलिप्याड निर्माण गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

नेपालमा नै पहिलोपटक म्याग्दीमा ‘एक वडा एक हेलिप्याड’ निमार्ण गर्ने अभियान सञ्चालन गरिएको थियो । सो अभियानअन्तर्गत अहिलेसम्म ३३ वटा वडामा हेलिप्याड बनाएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।
“म्याग्दीका सबै वडामा आगामी तीन वर्षभित्रमा हेलिप्याड बनाइसक्ने योजना बनाएका थियौँ तर आठ महीनामा नै ३३ वटा बनिसकेका छन् । अब दशँैसम्ममा सबै वडामा हेलिप्याड निर्माण गरिसकिनेछ”, उहाँले भन्नुभयो ।

बेनी नगरपालिकाको गलेश्वर र भकिम्लीको डोलेमा हेलिप्याड बनाइएको छ । अर्थुङ्गेको श्रीबक्स गुल्मीभित्र रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्नसक्ने नाइटभिजन हेलिप्याड निर्माण भएको छ ।

पुलाचौरको धार्मिकस्थल जगन्नाथ मन्दिर परिसरमा स्थानीयको सक्रियतामा हेलिप्याड निर्माण भएको छ । मङ्गला गाउँपालिकाको हिदी, कुहुँ र बरङ्जामा हेलिप्याड निर्माण भएको छ । मङ्गलाको दुई वटा वडामा हेलिप्याड बनाउन बाँकी छ । आठ वटा वडा रहेको रघुगङ्गाको पिप्ले र दग्नामबाहेकका सबै वडामा हेलिप्याड बनिसकेको छ । हेलिप्याडबाट आकस्मिक बिरामी, दुर्घटनाका घाइतेलाई तत्कालै अस्पताल पु¥याउन सहज हुने प्रजिअ अधिकारीले बताउनुभयो ।

हेलिप्याड निर्माणले धवलागिरि, अन्नपूर्ण, गुर्जा, पुथालगायत म्याग्दीमा हिमाल आरोहण र पदयात्रामा आउने पर्यटकलाई पनि सुविधा पुग्ने जनाइएको छ । हिमआँधी, हिमपहिरो, पहिरो, बाढी, कटान, आगलागीका साथै दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत तत्कालै अस्पताल पु¥याउन सकिने अपेक्षा गरिएको छ ।

सडक सुविधा नपुगेको र सडक अवरुद्ध भएको अवस्थामा तत्काल खोज, उद्धारका लागि विकल्पका रुपमा हेलिकप्टरको प्रयोग हुने गरेको छ । गुर्जा, कुइनेमङ्गले जस्ता दुर्गम बस्तीका बासिन्दा आकस्मिक बिरामी पर्दा हेलिकप्टरमार्फत अस्पताल पुग्ने गरेका छन् ।