७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध जोनी बैरस्टोवको शतक



अ+ अ-

काठमाडौं । भारतविरुद्ध इंग्ल्यान्डका जोनी बैरस्टोवले शतक बनाएका छन् ।

विश्वकप क्रिकेटअन्तर्गत जोनीले ९० बलमा शतक बनाएका हुन् । उनले ८ चौका र ६ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् ।

उनको यो जारी विश्वकपमा पहिलो शतक हो । शतक बनाउने क्रममा उनले ज्यासन रोयसँग १६० रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई राम्रो सुरुवात दिलाए । रोय भने ६६ रनमा आउट भए ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गरेको छ । दुई पटकको विश्वकप च्याम्पियन भारत जारी विश्वकपमा अपराजित छ । भारत आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ । यसैगरी इङ्ल्यान्ड पनि बलियो भारतलाई रोक्दै सेमिफाइनल यात्रा सहज बनाउने अभियानमा छ ।

जारी विश्वकपमा भारतले खेलेको ६ खेलमा पाँच खेल जितेको छ । भारतको एक खेल भने वर्षाका कारण रद्ध भएको थियो । भारतले तालिकामा ११ अंक बनाएको छ । भारतको सबै पक्ष सन्तुलित छ । यसैगरी सात खेल खेलिसकेको इङ्ल्यान्डले चार खेलमा जित र तीन खेलमा हार खेपेको छ । इङ्ल्यान्डको आठ अंक छ । अहिले इङ्ल्यान्डको ब्याटिङ, बलिङ र फिल्डिङ राम्रो छ ।

घरेलु मैदान र समर्थकको साथले पनि इङ्ल्यान्डलाई बलियो बनाएको छ । विश्वकपमा यसअघि यी दुई टोली सात पटक भिडेका छन् । दुवै टोलीले तीन तीन खेल जितेका छन् । एक खेल अनिर्णित बनेको थियो । अहिलेसम्म विश्वकप जित्न नसकेको इङ्ल्यान्डलाई यसपटक घरेलु मैदानमा उपाधि जित्ने मौका छ । त्यसैले भारतविरुद्ध इङ्ल्यान्ड खरो रुपमा प्रस्तुत हुनेछ । भारतले सन् १९८३ र सन् २०११ को विश्वकप उपाधि जितेको थियो ।