६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा देउवाविरोधी नेताको साझा बैठक, सामाखुसीमा छलफल



अ+ अ-

काठमाडौं । कांग्रेसमा सभापति शेरबहादुर देउवाविरोधी फरक–फरक समूहले साझा बैठक गरेका छन् । उनीहरूले वडादेखि प्रदेशसम्म गठन हुनुपर्ने विधानअनुसारका संरचनालाई निर्वाचनबाटै पूरा गर्नुपर्ने विषयमा अडान लिने सहमति गरे ।

नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, सुजाता कोइरालासहितको बैठकले केन्द्रीय समितिमा साझा विषय उठाउने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय समिति बैठक २२ असारमा बस्दै छ । देउवा समूहबाहेकका शीर्ष नेताहरूले नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीको निवास सामाखुसीमा छलफल गरेका थिए । बैठकमा उदयपुरका सभापति विदुर बस्नेत र रोल्पाका सभापति अमरसिंह पुन पनि सहभागी थिए ।

नेता रामचन्द्र पौडेलले केही जिल्ला सभापतिहरूले छलफल गर्न चाहेपछि आफूहरू बैठक बसेको जानकारी दिए । सभापति देउवासँग समय बढाउने विशेष अवस्था नरहेको भन्दै १४औँ महाधिवेशनअन्तर्गत सदस्यता वितरणदेखि तल्लो तहका अधिवेशनमा लाग्नुपर्ने विषयमा छलफल भएको पनि उनले बताए ।

‘हामी २२ असारमा बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि छलफलमा बसेका हौँ,’ बैठकमा सहभागी अर्का एक नेताले भने, ‘पार्टीका वडादेखि प्रदेश तहसम्मका संरचनालाई पार्टी केन्द्रले हस्तक्षेप गरी आफूअनुकूलका संरचना बनाउन खोजेकोप्रति हाम्रो असन्तुष्टि हो । तदर्थ र मनोनीत समिति हामीलाई स्वीकार्य छैन ।’

कांग्रेसको संशोधित विधानको नियमावली पास भइसकेको छैन । १४औँ महाधिवेशनको सम्भावित समीकरणलाई ख्याल गर्दै पार्टी संस्थापनले नियमावलीलाई आफूअनुकूल प्रयोग नगरोस् भन्नेमा पूर्वसंस्थापन सचेत रहेको ती नेता बताउँछन् ।

‘सक्रिय सदस्यता वितरणदेखि पार्टीका संरचना बनाउन अब ढिलाइ गर्नुहुँदैन । यसै विषयको नियमावली अन्तिम चरणमा पनि छ,’ ती नेताले भने, ‘संशोधित विधानकोे संक्रमणकालीन व्यवस्थामा पार्टीका सबै संरचनाको गठन निर्वाचनबाट हुने उल्लेख छ । तर, केन्द्रीय समितिको निर्णयअनुसार हुनेछ भनेर नियमावलीमा उल्लेख गर्ने तयारी संस्थापनले गर्न खोजेपछि हामीले खबरदारी गर्न लागेका हौँ ।’

छलफल केन्द्रीय समितिको बैठकअघि २१ असारमा बस्ने जानकारी ती नेताले दिए । साँझ ५ देखि साढे ८ बजेसम्म चलेको छलफलमा भ्रातृ संस्थाको महधिवेशन छिटो गर्न उनीहरूको विधान टुंग्याउनुपर्ने, महत्वपूर्ण विभाग गठन सहमतिमा हुनुपर्ने, गुटबन्दी अन्त्य गर्दै एक भएर अगाडि बढ्नेलगायत विषयमा उनीहरूको छलफल केन्द्रित थियो ।

जिल्ला सभापतिहरूले जागरण अभियानका क्रममा नेता कार्यकर्ताहरूले केन्द्रकै गुटबन्दी पहिले मिलाउन आग्रह गरेको बताएका थिए । तल्लो तहमा धेरै गुट नभएको तर केन्द्रमा नै गुटबन्दी हुँदा पार्टी कमजोर भएको रिपोर्टिङ उनीहरूले गरेका थिए ।

वडादेखि स्थानीय तहको अभावमा पहिलो चरणको राष्ट्रिय जागरण अभियान अपेक्षित सफल नभएको निष्कर्ष बैठकको थियो । तर, पार्टी संरचनलाई व्यवस्थित बनाउन यस्तो अभियान आवश्यक भएको निष्कर्ष पनि उनीहरूले निकालेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।