१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा दैनिक ४२ करोड लिटर पानी आवश्यक, १० करोड लिटर मात्रै उपलब्ध



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार काठमाडौंमा एक व्यक्तिलाई प्रतिदिन १३५ लिटर पानी आवश्यक पर्छ । यो आधारमा उपत्यकाका ३० लाख जनसंख्यालाई दैनिक ४२ करोड लिटर पानी आवश्यक पर्छ । तर, केयुकेएलसँग अहिले प्रतिदिन १० करोड लिटर मात्रै उपलब्ध छ । योमध्ये ३५ देखि ४० प्रतिशत पानी त चुहिएरै सकिन्छ । त्यसैले उपभोक्ताको घरमा ५ देखि ६ करोड लिटर मात्रै पुग्छ । यस आधारमा दैनिक एक व्यक्तिको भागमा २० लिटर मात्रै पर्छ । तर, उपभोक्ताले यही पानी पनि दैनिक नपाउने भएकाले जटिल समस्या छ । ‘उपत्यकाभित्रका सर्फेसमा रहेका पानीका स्रोत अधिकतम प्रयोग गरिएको छ ।

जमिनमुनिको पानी पनि ८० ठाउँबाट उत्पादन हुँदै छन् । यी सबैबाट दैनिक १० करोड लिटर पानी मात्रै उत्पादन हुन्छ । तर, माग ४२ लाख लिटरको छ । यति ठूलो मागलाई १० करोड लिटरले कसरी धान्न सक्छ,’ केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले भने ।

बालुवाटार र शीतल निवास क्षेत्रमै पानीको चरम अभाव
राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास रहेको क्षेत्रमै खानेपानीको हाहाकार छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार काठमाडौंमा शीतलनिवास, बालुवाटार, वसुन्धरा, नयाँबजार, गोंगबु, महाराजगन्ज, ठमेल, नक्साल, हाँडीगाउँ, सामखुसीलगायत क्षेत्रमा खानेपानीको चरम अभाव छ । शीतलनिवास र बालुवाटार क्षेत्रका घरहरूमा २० दिनमा बिराएर बढीमा तीन घन्टा खानेपानी वितरण गरिँदै आएको छ ।

दक्षिणी सामाखुसी क्षेत्रमा १९ दिनमा, बाँसबारी र कपन क्षेत्रमा १८ दिनमा र बसुन्धरा पश्चिम क्षेत्रमा १७ दिनमा एकपटक खानेपानी वितरण हुँदै आएको छ । बानेश्वर आसपासका क्षेत्रमा पनि खानीपानीको अभाव छ । उक्त क्षेत्रका घरका धारामा आठ दिनमा दुई घन्टा मात्रै खानेपानी आउँछ । क्षेत्रपाटी आसपासमा नौ दिन बिराएर आउँछ । बौद्ध, महांकाल, चुच्चेपाटी, चाबहिल क्षेत्रमा पनि नौ दिनमा एकपटक खानेपानी वितरण हुन्छ । त्यस्तै, त्रिपुरेश्वर, कालिमाटी, डल्लु आसपासका क्षेत्रका घरमा सातामा एकपटक सरकारी पानी आउँछ । ललितपुरको कुपन्डोल, जावलाखेल क्षेत्रमा पनि समस्या उस्तै छ । यहाँ एक सातामा पानी वितरण हुन्छ ।

ट्यांकरबाट वितरण हुने पानीको माग बढ्दै
केयुकेएलबाट वितरण हुने पानीको परिमाण घटेपछि ट्यांकरबाट वितरण हुने पानीको माग बढेको छ । उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार उपत्यकाभित्र दैनिक सात सय ट्यांकरले पाँच करोड लिटर पानी वितरण गर्छन् । सुक्खा मौसममा यो माग १० करोड लिटर पुग्छ । तर, ट्यांकरको पानी खरिद गर्दा पनि उपभोक्तालाई पर्याप्त हुँदैन ।
उपत्यकामा भक्तपुरको झौखेल, सातदोबाटो, गोदावरी, चाल्नाखेलदेखि हिमाल सिमेन्ट कारखाना रहेको स्थानसम्म, मातातीर्थ, स्वयम्भू, बालाजु, जोरपाटी, सानेपाको बागमती नदीलगायतका क्षेत्रमा आधुनिक मेसिन राखेर जमिनमुनिको पानी तानिन्छ र ट्यांकरमा भरेर उपभोक्ताकहाँ लगिन्छ ।

जारको पानीको खपत पनि बढ्यो
केयुकेएलले मागबमोजिमको पानी नधान्ने भएपछि जारको पानीको माग बढ्दो दरमा छ । बोटल वाटर उद्योग संघका अनुसार सामान्य अवस्थामा २० लिटर पानी अटाउने जार दैनिक ४५ हजारदेखि ५० हजार गोटासम्म खपत हुने गर्छ । सुक्खा याममा भने ७० हजारवटासम्म जारको पानी खपत हुने गर्छ । त्यस्तै, एकदेखि डेढ लिटर अटाउने बोतलको पानी सामान्य अवस्थामा दैनिक २० देखि २५ हजार केस ९एक केसमा १२ वटा बोतल हुन्छ० खपत हुन्छ । सुक्खा याममा भने ४० हजार केससम्म खपत हुन्छ । जाडोको तुलनामा गर्मीमा पानीको माग ४० प्रतिशत बढ्ने गरेको संघको दाबी छ । यो आधारमा हिसाब गर्दा साना र ठूला जारबाट मात्रै सुक्खा याममा दैनिक १६ लाख ८० हजार लिटर पानी वितरण हुने गर्छ ।

दैनिक तीन करोड ३१ लाखको पानी खपत
उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार ट्यांकरको पानी प्रतिलिटर ४० पैसाको दरले बिक्री हुन्छ । सुक्खा याममा दैनिक ५ करोड लिटर पानी आपूर्ति हुने भएकाले यस याममा ट्यांकरको पानी मात्रै दैनिक दुई करोड रुपैयाँको बिक्री हुन्छ । त्यस्तै, २० लिटर अटाउने जारको पानी दैनिक ७० हजारवटा खपत हुन्छ । एउटा जारको मूल्य ५० रुपैयाँ पर्छ । यो आधारमा २० लिटर जाने जारको पानी मात्रै दैनिक ३५ लाख रुपैयाँको बिक्री हुन्छ । त्यस्तै, एक लिटर पानी अटाउने सानो बोटल दैनिक ४ लाख ८० हजार वटा बिक्री हुन्छ । एउटा बोतलको मूल्य २० रुपैयाँ पर्छ । यस आधारमा सानो बोटलको पानी मात्रै दैनिक ९६ लाखको बिक्री हुन्छ । यसरी समग्रमा सुक्खायाममा उपत्यकामा दैनिक तीन करोड ३१ लाख रुपैयाँको पानी माग हुन्छ ।

खोलाको पानी पिउनुपर्ने बाध्यता

तेजराज भट्ट

कैलालीको अत्तरिया नगरपालिका–११ र १२ स्थित गोदावरी ओलानी क्षेत्रका बासिन्दाले खोलाको पानी पिउने गरेका छन् । तीन सय परिवार खोलाको पानीमा आश्रित रहेको वडा नम्बर ११ का अध्यक्ष शिवबहादुर विकले बताए । बर्खामा धमिलो पानी आउने गरेको स्थानीय सावित्री खड्काले बताइन् । पहिले गाउँमा बोरिङबाट पानी तानेर वितरण गरिएको भए पनि अहिले बिग्रिएपछि धारामा पानी आउँदैन । ‘आयोजना बिग्रिएपछि धारामा पानी आउन छाड्यो, खोलाको पानी पिउनुको विकल्प छैन,’ खड्काले भनिन्, ‘अहिले खोलाको पानी धमिलो छ ।’

मछली खोलाको पानी सिँचाइका लागि नहरमार्फत गाउँमा पुर्याइएको छ । कतिपयले त्यही पानी प्रयोग गर्छन् । वडा नम्बर १२ मा पर्ने ओलानीको माथिल्लो भेगमा भने खोलाको पानी पाइपबाट ल्याएर वितरण गरिएको छ । हाल ६ सय परिवारलाई पुर्याउन रोटरी क्लब धनगढीले दुई करोड रुपैयाँको लागतमा ओलानीमा खानेपानी आयोजना निर्माण गरिरहेको छ । त्यस्तै, संघीय सरकारको लगानीमा पनि एक हजारभन्दा बढी घरधुरीलाई खानेपानी पु¥याउने लक्ष्यसहित ओलानी क्षेत्रमै अर्को आयोजना बनिरहेको वडा नम्बर १२ का अध्यक्ष भीमबहादुर खड्काले बताए ।

बुटवलमा खानेपानीको हाहाकार
विष्णु घिमिरे

बुटवलमा अहिले साढे तीन करोड लिटर खानेपानीको माग छ, तर खानेपानी संस्थानले दुई करोड ७५ लाख लिटर मात्रै वितरण गर्दै आएको छ । एक करोड लिटर पानी अभाव हुँदा संस्थाले सुरु गरेको १० वर्ष पुरानो खानेपानी आयोजना भने अलपत्र छ । बुटवलमा खानेपानीको दूरगामी माग पूर्ति गर्न चार करोड लगानीमा ०५३र५४ मै पाल्पाको सिस्नेबाट पानी ल्याउने योजना बनेको थियो । ०५३ मै पाइपसमेत खरिद गरिएको थियो । तर, विभिन्न अवरोध र ढिलासुस्ती भएपछि सिस्ने योजना अलपत्र छाडेर खानेपानी संस्थानले ०६६ मा पाल्पाकै झुम्साबाट खानेपानी ल्याउने योजना सुरु ग(यो । तर, तोकिएको निर्माण अवधि तीन वर्ष धकेलिँदा र २२ करोड खर्च भइसक्दा झुम्साको पानी बुटवल झर्ने सम्भावना अन्योलमै छ ।

पाल्पाको झुम्सा पुलबाट ३२ सय मिटर पूर्वमा रहेको झुम्सा मुहानबाट बुटवलमा पानी ल्याउन करिब १३ किलोमिटर दूरी छ । आयोजनाका अनुसार काम सम्पन्न गर्न अब ३ सय मिटर मात्रै पाइप बिछ्याउन बाँकी छ । तर, बाँकी पाइप बिछ्याउने रुटमा समेत विवाद हुँदा फरक स्थानबाट पाइप बिछ्याउन नयाँ टेन्डर गर्न लागिएको खानेपानी संस्थान बुटवलका प्रमुख बुद्धरत्न महर्जनले बताए । अहिलेसम्म आठ हजार सात सय ८१ मिटरमा १० इन्चको र तीन हजार चार सय मिटरमा २० इन्चको पाइप बिछ्याइएको छ । तर, कैयौँ ठाउँमा पाइप फुटेर काम नलाग्ने भएका छन् । हाल खानेपानी संस्थानले बुटवलमा जडान गरेका १६ सय धारामा तिनाउ खोला र बोरिङको पानी वितरण गर्दै आएको छ ।

चार दिनमा आधा घन्टा पानी कर्णालीको राजधानी नै काकाकुल

खगेन्द्र भट्टराई
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर काकाकुल बनेको छ । वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले चार दिनमा आधा घन्टा मात्र पानी आपूर्ति गरेपछि स्थानीय संकटमा परेका हुन् । मुख्य स्रोत मानिएको झुप्राखोलामा पानी सुक्न थालेपछि वीरेन्द्रनगरवासीलाई खानेपानी आपूर्तिमा समस्या भएको संस्थानका प्रमुख डम्बरबहादुर गौतमले बताए । दैनिक एक करोड ५४ लाख लिटर पानी आवश्यक भए पनि संस्थाले ८६ लाख लिटर मात्रै पूर्ति गर्ने गरेको छ । अहिले वीरेन्द्रनगरवासी घरदेखि टाढाका ढुंगेधारा र बुलबुले ताल पुगेर पानी संकलन गर्न बाध्य छन् । फास्ट ट्र्याकबाट भेरी नदीको पानी मूल लाइनमा जोड्ने योजना पनि अलपत्र परेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।