काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएकोमा सरकारको आलोचना गरेका छन् ।
राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजिन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा थापाले भारतबाट आउने फलफूल र तरकारी मात्र होइन, नेपालबाट जाने चिया र अलैंचीबारे पनि हिसाव किताब होला भन्ने लागेको भए पनि पारीबाट आएको खोकीको मन्द आवाजले सरकार थला परेको बताए ।
सरकारले आवश्यक तयारी विना निर्णय गरेपछि काम सही भएकाले महंगो तरकारी खाएर होस् वा तिहुन विनाको भोजन खाएर होस्, सरकारलाई साथ दिन जनता तयार थियो भन्दै उनले भने, ‘लागेको थियो, सरकार आफ्नो निर्णयमा अडिरहने छ । विलम्ब नगरी भन्सार विन्दुमा पूर्वाधार बनाउनेछ ।’
प्रधानमन्त्रीको मान राख्न मास्क नलागाई हिँडेको र अब विषादी भएकै तरकारी खाइदिने भन्दै उनले भने, ‘प्रधानमन्त्रीलाई यति मात्र सोध्न बाँकी छ, तपाईंको राष्ट्रवादी खुट्टा देखिएकै थियो । घुँडामा कत्रो भ्वाङ पर्यो ?’