८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानले भारतका लागि खोलिदियो हवाई क्षेत्र, सम्बन्धमा मिठास भर्न खोजेको भारतको दाबी



अ+ अ-

FILE PHOTO: An arial view of the airplane hub at the airport in Karachi, Pakistan Feb 3, 2017. REUTERS/Caren Firouz/File Photo

काठमाडौं । पाकिस्तानले भारतका लागि हवाई क्षेत्र खुला गरेको छ । पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणले मंगलबारबाट हवाई क्षेत्र खुला गरेको जानकारी दिएको हो ।

बालाकोट आक्रमणपछि पाकिस्तानले भारतीय विमानका लागि हवाई मार्ग बन्द गरेको थियो । हवाई मार्ग खुला गरेर पाकिस्तानले भारतसँगको सम्बन्धमा मिठास भर्न खोजेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

पुलवामा हमला गरेपछि भारतीय वायुसेनाले २६ फेब्रुअरीमा पाकिस्तानको बालाकोटमा कथित रुपमा जैश–ए–मोहम्मदको आतंकी शिवरमाथि हवाई हमला गरेको थियो । त्यसपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।

हवाई क्षेत्र बन्द भएपछि युरोप र खाडी देश जाने विमानहरु गुजरातदेखि अरब सागर हुँदै जानुपर्ने बाध्यता थियो ।प्रतिबन्धका कारण दैनिक २३३ विमानका करिब ७० यात्रु प्रभावित बनेका थिए । आफ्नो गन्तव्यमा पुग्न उनीहरुलाई डेढदेखि दुई घण्टा बढी समय लागिरहेको थियो ।

गत महिना प्रधानमन्त्री नरेन्द्र मोदी एससीओ समिटका लागि किर्गिस्तान जानुपर्ने थियो । त्यतिबेला पाकिस्तानले मोदीका लागि ४८ घण्टाका लागि आफ्नो हवाई क्षेत्र खुला गरेको थियो । तर, मोदीले पाकिस्तानको हवाई क्षेत्र प्रयोग भने गरेनन् ।

राज्यसभामा तीन जुलाईमा भारतका नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले पेस गरेको तथ्यांकअनुसार एयर इन्डियाले दुई जुलाईसम्म ४९१ करोड भारु घाटा व्यहोरेको थियो । यसैगरी भारतका निजी एयरलाइन्स कम्पनी स्पाइसजेटले ३० करोड, इन्डिगोले २५ करोड र गो एयरले २ करोड घाटा व्यहोरेका थिए ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भारतीय एयरलाइन्स अपरेटरहरुले अब छिट्टै पाकिस्तानको हवाई क्षेत्र हुँदै सामान्य मार्ग प्रयोग गर्न थाल्ने छन् ।

पाकिस्तानको नागरिक उड्ड्यन प्राधिकरणले गएराति पौने १ बजेतिर एयरमेन (नोटाम)लाई एक सूचना पठाएर पाकिस्तानको हवाई क्षेत्र सबै प्रकारका सार्वजनिक उडानका लागि खुल्ला भएको जानकारी दिएको थियो । दुवै देशको हितलाई ध्यानमा राखेर यो कदम चालिएको प्राधिकरणका अधिकारीको भनाइ छ ।