• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

रेल आउँछ-आउँछ, आउँदैन, स्थानीयहरू चिन्तामा



जनकपुरधाम । जनकपुर-जयनगर-कुर्था रेल सञ्चालनका लागि एक वर्षभित्र चार पटक बेग्लाबेग्लै मिति घोषणा भइसक्यो। तर रेल आउने छाँटकाट अझै छैन। जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटर रेलमार्ग बाढीले क्षतिग्रस्त बनाएपछि अन्योल बढेको छ।

गत साता मधेसमा आएको भीषण बाढीले रेल्वे ट्र्याक भताभुंग बनाएको छ। पूर्वी धनुषाको जनकनन्दनी गाउँपालिका—१ इनर्वामा कमला नदीको तटबन्ध फुटेर आएको भेलले सय मिटरजति रेल्वे ट्र्याक तहसनहस पारेको छ। जनकपुर-भंगहा–पिपराढी स्टेसनको लोहारपट्टी हल्टमा ४ किलोमिटर तयार भइसकेको ट्र्याक बेड पनि बाढीले क्षति पुर्‍याएको छ। रातो खोलामा आएको बाढीको पानीमा रेल्वे ट्र्याक एक मिटरभन्दा बढी डुबेको छ। डेढ सय मिटर ट्र्याक पूर्णरूपमा क्षतिग्रस्त भएको छ।

बाढीले कुर्था स्टेसनको १० मिटर जति पर्खाल भत्काएको छ। जयनगर स्टेसनदेखि धनुषाको कुर्था स्टेसनसम्म ३४ किलोमिटर रेल्वे ट्र्याकमा कतै धेरै र कतै सामान्य क्षति पुर्‍याएको रेल विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोद ओझाले बताए।

असोजदेखि सञ्चालनको तयारीमा रहेको रेल सेवा बाढीले क्षतिग्रस्त भएपछि रेल गुड्ने योजना तत्कालका लागि रोकिएको छ। रेल सेवा सञ्चालनपूर्व जोखिम आकलन र तिनको व्यवस्थापन अत्यावश्यक रहेको इन्जिनियर ओझा बताउँछन्। ‘तराईमा बर्सेनि बाढी आउनु नौलो होइन’, उनी भन्छन्, ‘बाढीका बेला रेल्वे ट्र्याक जोगाउन कस्ता संरचना बनाउनुपर्ने हो त्यसमा ध्यान पुर्‍याउनुपर्छ।’

यो वर्षको क्षति हेर्दा बाढीले कलभर्ट नभएका ठाउँमा ट्र्याक धेरै क्षति गरेकाले अब मर्मत गर्दा ६ वटाजति कलभर्ट निर्माण गर्न भारतसँग आग्रह गरिने उनले सुनाए। भारतले पनि क्षतिको विवरण संकलन गरिरहेको र विवरण आएपछि मूल्यांकन गरेर मर्मत गरिने जानकारी गराएको छ।

भारतले ७ अर्ब भारतीय रुपैयाँमा रेलवे ट्र्याक निर्माण अघि बढाएको छ। पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १८ किलोमिटर र तेस्रो चरणमा भंगहादेखि बर्दिबाससम्म १७ किलोमिटर गरी जम्मा ६९ किलोमिटर रेल्वे सेवा सञ्चालनका लागि पूर्वाधार निर्माण भइरहेको छ।

भौतिक पूर्वाधार मन्त्रालय र भारतीय दूतावासले रामजानकी विवाह पञ्चमीमा नै रेल सञ्चालन हुने घोषणा गरेका थिए। असोज २५ गते ब्लास्ट बोकेर भारतीय मालवाहक रेल जनकपुरधाम आएको खुसियालीमा मिठाइ बाँडेका स्थानीयहरू ट्र्याक भत्केपछि चिन्तामा छन्।

रेल्वे स्टेसन, पुलपुलेसा, कल्भर्ट, लिक निर्माणका साथै ब्लास्ट बिछ्याउने काम पूरा भइसकेको छ। निर्माण कम्पनीले अहिलेसम्म हस्तान्तरण नगरे पनि रेलका इन्जिन र बोगी खरिद प्रक्रिया भने सरकारले अगाडि बढाइसकेको छ। कर्मचारी आवासगृह निर्माणाधीन छन्।

भारतको लगानीमा सञ्चालित यो परियोजना ३ चरणमा पूरा हुने भनिए पनि महोत्तरीको भंगहादेखि बर्दिवाससम्मको १७ किलोमिटर रेल विस्तार तथा स्तरोन्नतिका लागि आवश्यक १ सय १० बिघाभन्दा बढी जग्गा अझै अधिग्रहण भएको छैन। ब्रोडगेज रेल निर्माण गर्न ६ वर्षयता रेल सेवा बन्द भएपछि धनुषा, महोत्तरीलगायत भारतीय सीमावर्ती क्षेत्रका बासिन्दा यातायातको समस्या भोग्दै आएका छन्।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।